बाग्मती

आफ्नै देश फर्किएर पान पसलमा रमाउँदै दाजुभाइ

चितवन । एक दशक दुबई र कतारमा श्रम गरेका रत्ननगरका पौडेल दाजुभाइ स्वदेश फर्केपछि आफ्नै पान पसलमा रमाइरहेका छन् । परिवारसँगै बसेर उनीहरुले विदेशको भन्दा राम्रो आम्दानी यही गर्न सफल भएका हुन् । छ वर्षअघि बैदेशिक रोजगारबाट फर्केर आउनुभएका रत्ननगर नगरपालिका–१० निपनीका नरिश्वर र रामु पौडेलले टाँडी बजारको बकुल्लहर चोकमा ‘पौडेल पान पसल एण्ड कोल्ड स्टोर’ खोलेर व्यवसाय गर्दै आएका हुन् । दाजु नरिश्वरका अनुसार उनी दुई वर्ष कतार र छ वर्ष दुबईमा तथा भाइ रामु १० वर्ष दुबई बसे । विसं २०६९मा उहाँहरू दुबैले सल्लाह गरेर नेपाल फर्केपछि यो व्यवसाय थाल्नुलेका थिए ।

भाइ रामुले भने, “बकुल्लहर चोकको सानीआमाको जग्गामा रहेको पसल बिक्री हुँदै छ भन्ने सुनेपछि दाजुभाइ एयर अरबियाको जहाज चढेर नेपालमा नै व्यापार गर्ने सोचका साथ फर्कियौ । यी दाजुभाइले नेपाल फर्किएर रिमाल बासँग सानीआमाको जग्गामा रहेको पान पसल खरीद गरे । रामुले भने,“हामीलाई पान बनाउने ज्ञान थिएन रु चार लाखमा पसल किन्दै गर्दा रिमाल बासँग दुईसातासम्म पान बनाउन सिकाउनुपर्ने सर्त राख्यौं ।” सोही सर्तअनुसार भारत नटेकेका पौडेल दाजुभाइलाई रिमाल बाले पान बनाउन सिकाए ।

यससँगै ती दाजुभाइले कोल्ड स्टोर पनि सञ्चालन गर्दै लिए। दाजु नरिश्वरका अनुसार यी दुबैबाट दैनिक रु ३० देखि ४० हजारसम्मको व्यापार हुने गरेको छ । उनका अनुसार एक महीनामा पसलको भाडा रु ३० हजारसहित पसल र घरको सबै खर्च कटाएर एकदेखि सवालाखसम्म बचत हुने गरेको छ । यही कमाएको पैसाले दुई कठ्ठा जमीन र एउटा नयाँ घर ठड्याइएको र अहिले यहाँको सम्पति रू चार करोड बराबरको पुगेको छ ।

घरमा खेतीपातीसँगै व्यापारमा बुबाले पनि सघाउँदै आउनु भएको भाइ रामुले बताउनुभयो । सो क्षेत्रमा सबैले रुचाएको पान उहाँले नै बिक्री गर्दै आएका छन् । “दैनिक तीन सय खिल्लीभन्दा बढी पान बिक्री हुन्छ,” । रामुले भने, “यहाँ पान बेचेरै पनि सुन फलाउन सकिन्छ । विदेशमा अर्काको श्रम गर्नुभन्दा घरपरिवार र स्टमित्रसँगै रमाउन पाउँदा आफू निकै खुशी छु ।” दाजु नरिश्वरले भने,“कोही पनि विदेश जानुपर्दैन, त्यहाँको जति मिहनेत यही ग¥यो भने अवश्य सुन फल्छ ।”