समाचार

कैलालीको लम्की तनावग्रस्त, स्थानीयले ढुङ्गा प्रहार गर्दा सात प्रहरी घाइते

कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ ।

ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत प्रयोग गर्नुपरेको छ ।

प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, रामबहादुर बुढा, सहायक प्रहरी हवल्दार प्रेमसिं धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरी घाइते भएका छन् ।

प्रदर्शनकारीको पक्षका लम्की बहुमुखी क्याम्पसका प्रेमराज मुडभरी पनि घाइते भएका छन् । घाइते सबैको अवस्था खतारमुक्त रहेको बताइएको छ । स्थानीय लालरत्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।