बाग्मती

हात्ती व्यवस्थापन कार्ययोजना ल्याइँदै

काठमाडौँ । नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो नेपालको सहयोगमा पूर्व, मध्य र पश्चिम गरी तीन क्षेत्रमा सुझाव सङ्कलन थालिएको छ । पश्चिम बर्दियामा सुझाव सङ्कलन पछि सोमबार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई मध्यनजर गर्दै चितवनको सौराहा छलफल गरिएको छ ।

काठमाडौँ । संरक्षणको क्षेत्रमा खटिएका अगुवाले हात्तीको वासस्थापन निर्माणमा जोड दिनुका साथै मानिसका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक नरेश सुवेदीले पछिल्लो समय तराईका सबै जिल्लामा हात्ती पुग्न थालेकाले यसले मावन र वन्यजन्तुबीचको द्वन्द्वको खतरा बढ्दै गएको बताए ।

उनले भने, “पहिले नवलपरासी, रुपन्देहीलगायतका क्षेत्रमा हात्ती देखिन्थेन, अहिले सबै ठाउँमा देखिन थालेको छ, यसले चुनौती थपिएको छ ।” सरकारले हात्ती संरक्षणका लागि बनाएको १० वर्षे कार्ययोजना कार्यान्वयनको अवस्था कमजोर देखिएको उनले बताए ।

सन् २०१८ मा कार्ययोजनाको अवधि सकिएको छ । यो अवधिमा कार्ययोजनाले नेपालमा हात्तीको सङ्ख्यासमेत पत्ता लगाउन नसकेको उनको गुनासो छ । हात्ती संरक्षणका लागि वासस्थान, आहार व्यवस्थापनसँगै हात्ती हिँड्ने करिडोर निर्माण गर्नुपर्ने आवश्यकता देखिएको सुवेदीले बताए ।

वन्यजन्तु चिकित्सक कमल गैरेले हात्तीको आचरणअनुसार मानव बस्ती प्रवेशमा रोक लगाउन नयाँ–नयाँ उपाय ल्याउनु पर्ने सुझाव दिए । उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गराउन हात्ती हिँड्ने कोरिडोर क्षेत्रमा वर्षेनि तालीमको व्यवस्था हुनुपर्ने बताए ।

अयोध्यापुरी उपभोक्ता समितिका ईश्वरी सापकोटाले हात्तीलाई मानव बस्तीमा प्रवेश रोक लगाउन सिमेन्टयुक्त वाल लगाउनु उचित रहेको सुझाव दिए । सापकोटाले भने, “सोलार फेनसिङदेखि सबै उपाय अपनाइयो, सिमेन्ट वाल नै बढी प्रभावकारी देखिएको छ ।” वस्तीमा प्रवेश गरेर हात्तीले मान्छे मार्ने, घर भत्काउने र अन्नबाली खाइदिने गरेका कारण हात्तीप्रति मान्छेको आक्रोश बढी रहेको उनले बताए ।

पछिल्लो १५ वर्षमा सबैभन्दा बढी बाँके, बर्दिया, दोस्रोमा झापा, मोरङ र तेस्रोमा चितवन र पर्सा क्षेत्रमा हात्ती र मानवबीचको द्वन्द्व देखिएको छ । यसको समाधान अहिलेको प्रमुख चुनौती रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक टीकाराम अधिकारीले बताए ।

अधिकारीले मावन र वन्यजन्तुबीचको द्वन्द्व घटाउन जनचेतनामूलक कार्यक्रम नै आवश्यक रहेको बताए । विश्वमा अफ्रिकन र एशियाली गरी दुई प्रजातिका हात्ती पाइन्छन् । नेपालमा पाइने एशियाली हात्तीका सङ्ख्या झण्डै २०० भन्दा बढी छ ।

सन् २०११ मा नेपालमा १४५ को हाराहारीमा मात्रै हात्ती थियो । झापादेखि कोशीटप्पु क्षेत्रमा १५ देखि २०, चितवन–पर्सा निकुञ्ज क्षेत्रमा ४० देखि ५०, बर्दियामा १०२ र शुक्लाफाटा क्षेत्रमा १० देखि १५ को हाराहारीमा जङ्गली हात्ती पाइने गरेको छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद कृष्णप्रसाद भुर्तेल प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा पूर्व संरक्षण अधिकृत रामप्रित यादव, पूर्व संरक्षण अधिकृत सीता बसेल, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपालबहादुर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।