समाचार

चामलको गेडामा तीन देशको झण्डा…

काठमाडौँ । क्यान्भास, लोक्ता वा नेपाली कागजमा चित्रकला प्रसस्तै भइरहन्छ । दृश्यचित्र होस् या मुहार चित्र, थान्का वा पौभा चित्र ठूलाठूला आकारमा बनाउनु सामान्य हो र धेरै चित्रकारले यस्ता चित्र बनाइरहेका छन् ।

एउटा चालमको गेडोमा निकै कम कलाकारले चित्र कोर्ने कलाकार बिरलै होलान् । त्यसमाथि पनि तीन तीन देशका झण्डा एउटै चालमको गेडोमा अटेको छ । विश्व चर्चित तीन साहित्यकाको चित्र एउटै चामलको गेडोमा बनेको छ । अनि नेपाली मौलिक पोशाकमा सजिएका एक पुरुषको चित्र पनि एउटै चामलको गेडोमा उनीएको छ ।

कतिपयलाई यो नौलो पनि लाग्नसक्छ । उक्त चित्र अहिले तपाईं काठमाडौँमा जारी ‘नेपाल–भारत अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मा हेर्न सकिन्छ । नेपाल र भारतको चित्रकला प्रदर्शनी भनिए पनि यहाँ एकजना बङ्गलादेशी चित्रकार खालिफा पलाश पनि सहभागी छन् । उनी नै हो चामलको गेडामा चित्र बनाएर प्रदर्शनीमै चर्चा कमाउने चित्रकार । उनको चित्रकला हेर्न सामान्य आँखाले भ्याउँदैन । आइ ग्लासको प्रयोग गर्नुपर्छ ।

“साह्रै राम्रो लाग्यो, यति सानो चामलको गेडामा यसरी चित्र बनाउँदाको मेहनतलाई सम्मान गर्नुपर्छ,” चित्र अवलोकन गर्दै मनोविद् डा नरेन्द्र ठगुन्नाले भने । उनले एउटा चामलको गेडोमा तीन देशको झण्डा बनाएर आपसी सम्बन्धलाई देखाउन खोजेका छन् । नेपाल र भारत सिमाना जोडिएको जिल्ला हो । सिमाना नजोडिएको जिल्लामध्ये सबैभन्दा नजिक करीब २७ किलोमिटर दुरीमा रहेको बङ्गलादेश सम्बन्धका हिसाबले नजिक छ ।

“यी तीन देशको आपसी सम्बन्धलाई प्रगाढ छ भन्ने सन्देश दिन एउटै चामलको गेडोमा तीन देशको झण्डा समावेश गरेको हुँ,” चित्रकार पलाशले बताए । चित्र हेर्नकै लागि आइग्लासको प्रयोग गर्नुपर्छ भने बनाउँदा कति गाह्रो भयो होला ? उनलाई चित्रकला हेर्न आएका दर्शकको पहिलो प्रश्न हुन्छ, “तपाईलाई चित्र बनाउन गाह्रो भएन ।” सहज रुपमा उत्तर आउँछ “अरु बनाएजस्तै सामान्य नै लाग्छ, दुई/तीन दिनमा एउटा चित्र बनाइन्छ ।”

मुहारचित्र बनाउनलाई सामान्यतः क्यान्भासमा धेरै समय लाग्दैन । तर उनलाई मसिनो कूचि चलाएर रङ भर्न कठिन त छ नै । त्यसमाथि बगेर जाने जलरङ पानी नसोस्ने चामलको गेडोमा भर्न ठूलै चुनौती छ । रङको संयोजन मिलाउन सकिएन भने आकार निकाल्न नसकिने उनको तर्क छ । सांस्कतिक विविधताले भरिपूर्ण नेपालसँग सांस्कृतिक सम्बन्ध विस्तार गरी चित्रकला सम्बन्धी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल र भारतका चित्रकारको सहभागितामा ‘नेपाल–भारत अन्तर्राष्ट्रिय चित्रकला’ प्रदर्शनी आयाजना गरिएको हो ।

त्यसमा बङ्गलादेशका चित्रकला समेत हेर्न पाउँदा नेपाली कलाकारले खुशी ब्यक्त गरे । राखिएका उनका सात चित्रमध्ये अर्को एउटा चामलको गेडोमा चर्चित साहित्यकार रञ्जना ठाकुर, शेक्सपियर र नजरुलको चित्र कोरिएको छ । अर्को एउटा गेडोमा भने नेपाली मौलिक पोशाकमा सजिएका एक पुरुषको चित्र छ । नेपालमा चित्रकला प्रदर्शनी हुन लागेकाले नेपालको प्रतिनिधित्व गराएको उनले बताए ।

सेड द लाइट पिस मेकरको आयोजना ‘इण्डो–नेपाल कला उत्सव’अन्तर्गत जारी प्रदर्शनीमा अर्का भारतीय चित्रकारले फ्याँकिएका वस्तुबाट बनाइएको मूर्तिकला समेत प्रदर्शनी गरेका छन् । चित्रकार सपना शाहले आफ्नो आमाको ममतालाई कल्पना गरेर चित्र कोरेका छन् । आमा र छोरीको सम्बन्ध कस्तो हुन्छ, भनेर त्यसलाई प्रतिविम्बको रुपमा आफ्नो कथा उतारेको शाहले बताए।

भारतीय चित्रकार रितु सिंहले शिशुलाई काखमा लिएर खेलाउँदै गरेको आमाको माया चित्रले पनि दर्शकको मन तान्छ । योसँगै उनका तीन चित्र यहाँ प्रदर्शनीमा छ । कपालमा फूल सिउरिएकी झक्तपुरकी ६५ वर्षीया आमा घाम ताप्दै हुनुहुन्थ्यो । दुबै हातले गालामा समाएर आफ्नै धुनमा रहँदा वृद्धाको तस्वीरलाई नेपाली चित्रकार एनवी गुरुङले चित्रमा उतारेका छन् ।

“साहै्र सुन्दर लाग्यो,” चित्र अवलोकन गर्दै भारतीय राजदूत मञ्जिवसिंह पुरीले भने । विभिन्न देशका चित्रकार सहभागी भएर गरिने यस्तो प्रदर्शनीले सांस्कृतिक सम्बन्ध, भाषिक एकतालाई जीवन्त बनाउने कलाकारले बताएका छन् । यहाँ नेपाली २४ र भारतका १०, बङ्गलादेशका र बेलायतका एक÷एक गरी ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियो कला प्रदर्शनमा राखिएका छन् । प्रदर्शनममा नेपाल र भारत कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, फूल, वन, वन्यजन्तुसहित मुहार चित्र र कुमारीको चित्र समावेश छ ।