पत्रपत्रिका

ताँजाकोटमा फैलिएको रोगको अझै पहिचान भएन, मृतकको संख्या दश

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको रोगको अझै पहिचान हुन सकेको छैन । ताँजाकोट पुगेर आइतबारदेखि उपचारमा खटिएका चिकित्सकले ६० प्रतिशत बिरामीमा रुघाखोकी देखिएको र लक्षणका आधारमा औषधि खुवाइएको बताएका छन् । तर, रोग पहिचान हुन अझै तीन दिन लाग्ने उनीहरूले बताएका छन् ।

‘रोग पहिचानका लागि केही खकार र रगतका नमुना संकलन गरिएको छ । ती नुमना परीक्षणका लागि सुर्खेत लैजाने तयारी भइरहेको छ,’ उपचारका लागि सुर्खेतबाट खटिएको चिकित्सक टोलीका संयोजक डा। केएन पौडेलले भने, ‘सुर्खेतस्थित प्रयोगशालामा परीक्षणपछि मात्रै रोग पहिचान हुन्छ । रिपोर्ट आउन तीन दिनजति लाग्छ ।’

तर, सुर्खेतबाट खटिएको चारसदस्यीय चिकित्सकको टोली बिरामीको खकार र रगतको नमुना लिएर फर्किन हेलिकोप्टर व्यवस्था नहुँदा ढिलाइ भएको छ । हेलिकोप्टरको व्यवस्था भएपछि सुर्खेतबाट केही चिकित्सक ताँजाकोट जाने र डा। केएन पौडेल नेतृत्वको टोली नमुना लिएर फर्किने योजना रहेको कर्णाली सरकारका सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । मंगलबार या बिहीबार बिहानसम्म हेलिकोप्टर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
सोमबार थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो

ताँजाकोटमा महामारीमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । सोमबार ताँजाकोट–५ भदौराकी पवित्रा बोहोराको ज्यान गएको हो । ६२ वर्षीया बोहोरा दमको बिरामी थिइन् । यसअघि ताँजाकोट–१ का ७० वर्षीया कुसुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, ५५ वर्षीय वीरदल रिठाल, ५५ वर्षकै रंगे कोली र पाँच वर्षीया सुनकेस्रा सुनारको मृत्यु भएको थियो ।

यस्तै, वडा नं। ३ मा ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सञ्जीव थापाको मृत्यु भएको थियो । सुर्खेतबाट खटिएको चिकित्सकसहितको टोलीले उपचार गरेपछि बिरामीको स्वास्थ्यमा सुधार भइरहेको छ । चिकित्सकहरू बाँडिएर प्रभावित क्षेत्रमा उपचारमा खटिएका थिए । नयाँ पत्रिका