गण्डकी प्रदेश

ह्विलचियरले ल्यायो अपाङ्गताको मुहारमा खुशी

तनहुँ ।  तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सकेनन्। वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उनी अपाङ्ग भएका छन् । त्यसयता उहाँ ह्विलचियरको सहाराले हिँड्डुल गर्छन् ।

मलेशियाबाट ल्याएको ह्विलचियर पुरानो भएपछि उनलाई केही असहज अवस्था उत्पन्न भएको थियो । रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा नयाँ ह्विलचियर प्रदान गरेपछि उनमा खुशी छाएको छ ।

“बिग्रिएको ह्विलचियर मर्मत गर्दै दुई वर्षदेखि प्रयोग गर्दै आएको थिएँ”, उनले भने “नयाँ ह्विलचियर पाएपछि खुशी लागेको छ ।” पुरानो ह्विलचियरमा हिँड्दा समस्या हुने गरेको र अब नयाँ ह्विलचियर पाएपछि सहज हुने उनले बताए ।

व्यास नगरपालिका–६ का प्रतिमा श्रेष्ठसमेत नयाँ ह्विलचियर पाएपछि खुशी छन् । पुरानो ह्विलचियर बिग्रिएर हिँड्डुल गर्न समस्या भएपछि उहाँलाई नयाँ ह्विलचियरको आवश्यकता थियो । “पुरानो ह्विलचियरमा हिँड्दा कहिलेकाहीँ लड्ने समस्या थियो, नयाँ ह्विलचियरको खोजीमा थिएँ”, उनले भने, “रिसेडले नयाँ ह्विलचियर प्रदान गरेपछि खुशी लागेको छ ।”

उनी सोही वडाको जनजुक्त शाही माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । उनले भने, “नयाँ ह्विलचियरमा विद्यालय जान÷आउन अब सजिलो हुने भयो ।” भक्तबहादुर र प्रतिमा मात्र होइन अन्य १८ अपाङ्गता भएका व्यक्तिसमेत ह्विलचियर पाएपछि खुशी छन् । बन्दीपुर गाउँपालिका–२ का प्रमिला कुँवर जोगीले निःशुल्क ह्विलचियर पाएपछि सजिलो भएको बताए । उनले भने, “पैसा तिरेर खरीद गर्नुपरेको भए समस्या थियो । निःशुल्क ह्विलचियर उपलब्ध गराएर आयोजकले गुन लगाएको छ ।”

रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा २० जनालाई ह्विलचियर वितरण गरेको छ । करीब रु सात लाख मूल्य बराबरको ह्विलचियर वितरण गरिएको रिसेड तनहुँका अध्यक्ष पदम परियारले जानकारी दिए । ह्विलचियर पाउनेमा व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति रहेको रिसेडका महासचिव दामोदर रेग्मीले जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य सुगम भट्टराईका अनुसार समाजले देशका विभिन्न ठाउँमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर प्रदान गर्ने गरेको छ । नेपालमा वार्षिक तीन हजार ५०० भन्दा बढी ह्विलचियरको माग भए पनि दुई हजारलाई मात्रै ह्विलचियर वितरण गर्न सकिएको उनले जानकारी दिए । समाजले सन् २००६ देखि नेपालमा १५ हजारभन्दा बढी ह्विलचियर वितरण गरिसकेको छ ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका प्राविधिक सुनिता रिजालले नेपालमा तीन प्रकारको ह्विलचियर वितरण भइरहेको छ । उचित स्याहारसुसार गरेको खण्डमा ह्विलचियर तीन वर्षसम्म टिक्छ । समाजले घिरिङ गाउँपालिकामा सातलाई र भिमाद नगरपालिकामा १० लाई ह्विलचियर वितरण गरिसकेको छ ।