कर्णाली प्रदेश

गाउँपालिकामा रहेका विद्यालयलाई समायोजन

खलङ्गा । जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी गाउँपालिकामा रहेका विद्यालयलाई समायोजन गरेको छ । गाउँपालिकाले रासा, चुलाकोट र खोलीगाउँ विद्यालयलाई समायोजन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए।

गाउँपालिकाभित्र जम्मा तीन साविकको उच्च माध्यमिक विद्यालय रहेकामा दुई विद्यालयलाई कक्षा घटाइएको छ । सीता मावि राराको साविकको संरचना कक्षा १ देखि १२ रहेकामा अब रहने संरचना कक्षा ६ देखि १२, सरस्वती मावि कुडारी साविकको कक्षा १ देखि १२ रहेकामा अब रहने संरचना कक्षा ६ देखि १२ गरिएको गाउँपालिकाका प्रवक्ता सन्तवीर रावतले बताए । उनले भने, “गाउँपालिकामा रहेका चार आवासीय विद्यालयको कक्षा घटाइएको छ ।” थापागाउँ, रावतवाडा, जोगीवाडा र नारायण माविको कक्षा घटाइएको हो ।

“विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटता र नजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजीकको विद्यालयमा समायोजन गरिएको र गाउँपालिकाको शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो । समायोजन भएका विद्यालयमा बाल विकास केन्द्र भने कायम रहेकोे प्रवक्ता रावतले बताए।

गाउँपालिका क्षेत्रभित्र जम्मा ४५ सामुदायिक विद्यालय छन् । यो वर्षदेखि सबै विद्यालयमा १ कक्षादेखि १० कक्षासम्म अङ्गे्रजी माध्यमबाट पढाइ शुरु गरिएको गाउँपालिका अध्यक्ष योगीले बताए। विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरण लगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापन सुधार गर्न गाउँपालिका लागिपरेको उनको भनाइ थियो ।

गाउँपालिकाले विद्यालय समायोजन गर्दा विद्यालयको भवन आवश्यक भएकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा माग गरी गाउँपालिकाले पठाउने निर्णय गरिएको अध्यक्ष योगीले बताए।