सुदूरपश्चिम

सडक धुलाम्य हुँदा जनतालाई सास्ती

धनगढी । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठकको विशेष समयमा बोल्ने सदस्यले उक्त सडक निर्माणमा भइरहेको ढिलाइप्रति बारम्बार ध्यानाकर्षण गराउँदै आएका थिए तर, सडक निर्माणकार्यले तीव्रता पाउन सकेको छैन । सडक धुलाम्य भई आवागमन असहज हुँदा १६ मिनेटमा पुगिने अत्तरिया चोकबाट सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसम्मको १४ किलोमिटरको दूरी पार गर्न यतिबेला एक घण्टा लाग्ने गरेको यात्री बताउँछन् ।

सडकबाट उडेको धुलो सडक छेउछाउका सर्वसाधारणका आवासीय घरका साथै व्यापारिक सटरमा पस्दा सम्बन्धितलाई निकै हैरानी हुने गरेको छ । “धुलो बसेको घरका बरण्डा, छत, झ्यालढोकामा दिनभरिमा आठ/दश पटक सरसफाइ गर्नुपर्ने दिनचर्या बनेको छ”, स्थानीय भीमबहादुर तामाङले भने, “सडक छिटो कालोपत्र गरिदिएको भए धुलाम्य सडकबाट मुक्ति पाइन्थ्यो ।”

धनगढीको चटकपुरमा भेटिनु भएका युवक दिन्कन जोशी विकास गर्दा केही अप्ठ्यारो हुनु स्वभाविक भएको तर निर्माणको काममा ढिलासुस्ती हुँदा जनताले लामो समयसम्म दुःख पाइरहेको बताउँछन् । उनले भने, “काम गर्न कति समय लाग्ने, कुनै मापन नै हुन नसक्दा अनिश्चितता भयो ।”

प्रदेशको राजधानी प्रवेश गर्ने एक मात्र मुख्य सडक अत्तरिया–धनगढी सडकमा दिनमा सानाठूला दुई हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गरेको अनुमान छ । निर्माणका क्रममा उक्त सडकखण्डका ठाउँठाउँमा पुराना पुलेसा (कल्भर्ट) भत्काएर नयाँ कल्भर्ट निर्माणाधीन रहे पनि महीनौँ भइसक्दासम्म ती पुलेसाको निर्माणको काम पूरा हुनसकेको छैन ।

निर्माणका क्रममा जथाभावीरूपमा सडकमा खाल्डो खन्दा ठाउँठाउँमा सडक साँघुरिन गई दुर्घटनाको जोखिम पनि बढाएको छ । केही दिनअघि मात्र बोराँडाडी खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका थिए । यसअघि पनि उक्त सडकमा साना सवारीसाधन दुर्घटना भएका थिए । गर्मीयाममा धुलोको सामना गरिरहेका सर्वसाधारणले आउने वर्षायाममा सडक हिलाम्मे र डुबान हुने चिन्ता व्यक्त गरेका छन् ।

सडक आयोजना कार्यालयका प्रमुखको पटक–पटक सरुवा हुने गरेकाले कामको रेखदेख एवं निर्माणमा ढिलाइ भएको बताइएको छ । निर्माण शुरु भएको गत दुई वर्षमा तीन कार्यालय प्रमुख फेरिएकामा हाल चौथो कार्यालय प्रमुखको रूपमा होमबहादुर एसी आएका छन्।

सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा शुरुको अवस्थामा विवाद उत्पन्न भएपछि यो सडक निर्माणकार्य अघि बढाउन ढिलाइ भएको थियो । यसबाहेक साविकको सडक क्षेत्रमा रहेका रुख कटानीमा भएको ढिलाइका साथै गाडिएका बिजुलीका खम्बा सार्नमा भएको ढिलाइका कारण पनि काम गर्न ढिलाइ भएको थियो ।

धनगढी उपमहानगरपालिकाको मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया बजारसम्मको १४ किलोमिटर लामो सडकमध्ये बजारक्षेत्रको १० किमी लामो भागमा ‘छ लेन’ र ग्रामीण क्षेत्रको चार किलोमिटर लामो भागमा ‘चार लेन’ सडक निर्माण गर्ने लक्ष्य रहेको छ । आयोजनाका ओभरसियर दिनेशराज ओझा धुलाम्य सडकमा दिनमा तीन पटकसम्म पानी छर्किने गरिएको भए पनि चर्को गर्मीका कारण त्यसले थोरै समयमात्र काम गर्दा धुलो उड्ने समस्या नरोकिने गरेको बताउँछन् ।

तीन प्याकेजमा बाँडेर निर्माण भइरहेको यो सडकको निर्माण लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनीले गरिरहेका छन् । दुई वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएकामा यही वैशाखमा दुई निर्माण कम्पनी र जेठमा एक निर्माण कम्पनीको सम्झौता अवधि सकिन लाग्दासम्म सडकको भौतिक प्रगति भने ३५ देखि ४० प्रतिशत मात्रै हुनसकेको ओभरसियर ओझाले जानकारी दिए।

यो सडकको कूल लागत रु एक अर्ब ५० करोडको रहेको छ । धनगढी क्षेत्रमा सडक सञ्जालको विकास एवं स्तरोन्नतिका लागि पहिलोपटक यति ठूलो बजेट रकमसहित छ लेन सडक निर्माण आयोजनाले काम गरिरहेको हो । यसैबीच क्षेत्रीय सघन शहरी विकास आयोजनाअन्तर्गत धनगढी क्षेत्रका सडकको स्तरोन्नति एवं निर्माण गर्ने प्रक्रिया पनि अघि बढेको छ ।