गण्डकी प्रदेश

बालबालिकाको पढाइ खर्चमा जिम्मा लिए बागलुङ्गे युवाले

बागलुङ । गलकोट नगरपालिका–४ खरुवाका भीमबहादुर क्षेत्रीले न्यून आय भएका परिवारका १० बालबालिकाको पढाइ खर्च व्यहोर्ने भएका छन् ।

नयाँ शैक्षिकसत्र शुरु भएसँगै क्षेत्रीले छात्रवृत्तिसहित १० कक्षासम्मको वार्षिक पढाइ खर्च व्यहोर्ने घोषणा गरेका हुन् । स्व बुबा डम्मरबहादुर र आमा क्षेत्रकुमारीको स्मृतिमा बालबालिकाको पढाइमा सघाउने निर्णय लिएको क्षेत्रीले बताए। बालबालिकाले वार्षिक रु १५ हजार छात्रवृत्तिसहित विद्यालय पोशाक र पठनपाठनका सामग्री पाउनेछन् ।

क्षेत्रीले वडा नं ४ को खरुवा मावि कक्षा ७ की छात्रा पुष्पा सुनार, कक्षा ६ की संस्कृति क्षेत्री, चमुवा आधारभूत विद्यालय कक्षा ५ की छात्रा हिरा शर्मा र कक्षा ८ मा अध्ययनरत छात्रा गरिमा नेपालीको पढाइ खर्च व्यहोर्ने भएका हुन् । यस्तै वडा नं ६ स्थित पार्वती मावि कक्षा ९ की छात्रा रोशनी कँडेल, वडा नं ३ को गलकोट मावि कक्षा ६ का छात्र वसन्तकुमार कार्की र गोल्डेन फ्यूचर सेकेण्डरी बोर्डिङ स्कूल कक्षा ३ की छात्रा आकाङ्क्षा मल्ललाई पढाउने जिम्मा क्षेत्रीले लिएका हुन् ।

छात्रवृत्तिसहित पढाइ खर्च पाउनेमा वडा नं ५ को पृथ्वी मावि कक्षा ६ का छात्र उडेस थापा, वडा नं २ स्थित महेन्द्र मावि कक्षा २ की छात्रा रोजिना नेपाली र वडा नं १ को सरस्वती मावि कक्षा ६ मा अध्ययनरत छात्रा विष्णु नेपाली छिन् । छात्रवृत्ति दिनका लागि वडा कार्यालयले विशेष पहल गरेको वडाध्यक्ष बलबहादुर खत्रीले बताए । “क्षेत्रीको सहयोगले विपन्न परिवारका बालबालिकाको पढाइमा सहयोग पुग्नेछ”, वडाध्यक्ष खत्रीले भने ।

गलकोट नगरपालिका शिक्षा शाखासँगको समन्वयमा खरुवा माविबाट छात्रवृत्ति वितरणको प्रबन्ध मिलाइएको छ । छात्रवृत्ति पाउने बालबालिकाको छनोट सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिसमा गरिएको थियो । घरको आर्थिक अवस्था कमजोर भएका र पढाइमा जेहेन्दार बालबालिकाले छात्रवृत्ति पाउने भएका हुन् । बालबालिकाको पढाइ खर्च व्यहोर्ने क्षेत्री वैदशिक रोजगारको सिलसिलामा हाल जापानमा छन् ।