समाचार

राष्ट्रपति भण्डारी तथा चीनको केन्द्रीय आयोगका सचिवबीच भेटवार्ता

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली/राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज दिआवयुताइ सरकारी अतिथि गृहमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिका सदस्य तथा अनुशासनात्मक निरीक्षणका लागि केन्द्रीय आयोगका सचिव झाओ लेजीले भेटवार्ता गरे ।

उक्त अवसरमा नेपाल–चीनबीचका समग्र पक्षमा छलफल भयो । यसअघि राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा पनि नेपाल–चीन बीचका समग्र पक्षमा छलफल भएको थियो ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा भ्रमण गर्ने वचन दिएको बताइएको छ । दुई पक्षबीच अन्तरसीमा पूर्वाधार, कृषि, पर्यटन, लगानी, शिक्षाका सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो । यसपछि राष्ट्रपति भण्डारी चिनियाँ राष्ट्रपति जिनफिङका तर्फबाट सचिव लेजीले दिनुभएको रात्रिभोजमा सहभागी थिए ।