पु.समाचार

काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाउँछुः सचिव न्यौपाने

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले तीनवटै सरकार सञ्चालनको अनुभव प्रयोग गरेर महानगरलाई व्यवस्थित र समृद्ध बनाइने बताएका छन् ।

नेपाल सरकारका सचिवसमेत रहनुभएका न्यौपानेले आज महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गर्दै आफूले नगरवासीको इच्छा र चाहनाअनुरुपको विकासको काम गर्ने उल्लेख गर्दै त्यसका लागि जनप्रतिनिधि र कर्मचारीको पनि सहयोग आवश्यकपर्नेमा जोड दिए ।

मन्त्रिपरिषद्को यही वैशाख २ गतेको निर्णयले सचिव न्यौपाने प्रमुख प्रशासकीय अधिकृतका रुपमा सिफारिश भएका  थिए । यसअघि उनी प्रदेश १ का प्रमुख सचिवका रुपमा कार्यरत थिए । ।

पदबहाली गर्नुअघि महानगरको सभाकक्षमा प्रशासन विभागले आयोजना गरेको स्वागत कार्यक्रममा उनले सङ्घीय नेपालको केन्द्रीय राजधानी शहरको छवि बढाउन सरोकारवाला सबै एकै ठाउँमा हुनुपर्ने बताए । केन्द्रीय राजधानीको गौरव बढाउन सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर एकीकृत विकास पद्धतिको स्थापना गरिने दृढता उनले व्यक्त गरे ।

उपयुक्त व्यक्तिलाई क्षेत्रगत जिम्मेवारी दिने, असल अभ्यासको प्रवद्र्धन गर्ने र संस्थागत सिकाइलाई व्यवस्थित गर्ने काम आफ्नो प्राथमिकतामा परेको भन्दै उनले काममा कर्मचारी, जनता र जनप्रतिनिधि पनि खुशी भए यसले मात्र सार्वजनिक संस्थाको गरिमा बढ्ने बताए । यसअघिका प्रमुख प्रशासकीय अधिकृत(सचिव) यादवप्रसाद कोइराला संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । अघिल्लो चैत अन्तिम साता कोइराला महानगरमा नेपाल सरकारको पहिलो सचिवका रुपमा आएका थिए ।