समाचार

मानसिक तनाव भएका क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले लामाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो जवाफ नआएपछि प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ।

निगमको दुबई उडान स्थगित भएपछि लामाले केही मिडिया तथा सामाजिक सञ्जालमा आफूलाई ‘निद्रा नलाग्ने’, ‘मानसिक तनाव’ रहेको जस्ता अभिव्यक्ति दिएका थिए । लामाको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उहाँको लाइसेन्स तत्कालका लागि ‘सस्पेन्स’ गर्ने निर्णय गरेको हो ।

“उहाँ (क्याप्टेन लामा)ले रेडियो, युट्यूब च्यानल तथा फेसबुकतिर आफूलाई निद्रा नलाग्ने, ‘स्ट्रेस’ हुन्छ भन्ने अभिव्यक्ति दिनुभयो । हाम्रो नियमअनुसार स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । उनले हामी (क्यान) लाई रिपोर्ट गराउनुभएन, यसबारे स्पस्टिकरण पनि चित्तबुझ्दो नआएपछि प्रवक्ताको जिम्मेवारीमा रहुन्जेल जहाज उडानमा रोक लगाइएको हो,”–प्राधिकरणका एक वरिष्ठ अधिकारीले भने ।

प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै ‘लामालाई जहाज उडाउन किन दिने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।