अन्तर्राष्ट्रिय

श्रीलङ्कामा भएको भीषण आक्रमणपछि बुर्का लगाउन प्रतिबन्ध

कोलोम्बो । गत साता श्रीलङ्कामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ ।

गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि २ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्का जस्ता पहिरनलाइ सोमबारबाट लागू हुने गरी प्रतिबन्ध लगाइएको श्रीलङ्का सरकारले आइतबार घोषणा गरेको छ ।

सोमबारदेखि लागू हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख नगरिएको भए तापनि यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरन बुर्कालक्षित रहेको छ ।

आइतबार गरिएको यस निर्णयअनुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन नपाउने भएको छ । यसअघि नै श्रीलङ्ककाको संसदमा सुरक्षा कारण देखाइदै बुर्कामा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठ्ने गरेको थियो ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपायहरू अपनाइएको बताएक छन् । यस बुर्का प्रतिबन्धलाई पनि आकस्मिक उपाय मध्येको एक भएको बताइएको छ ।

अनुहार छोप्ने यस परिहरको प्रतिबन्ध लगाउने सरकारको यो घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ’निकाब’बारे प्रस्ट उल्लेख छैन, तर यो उनीहरूप्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ ।

श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन्, तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको पाइन्छ ।

श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको भएका तापनि गत अप्रिल २१ मा भएको भीषण आक्रमणहरुपछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग बढेको थियो ।

इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको यस भीषण आक्रमणहरुमा परी २ सय ५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५ सय भन्दाबढी घाइते भएका छन् ।

यस आतङ्ककारी आक्रमणमा परी करिब ४० विदेश नागरिकको पनि मृत्यु भएको छ । मारिएका ती विदेश नागरिकहरु भारत, डेनमार्क, चीन, टर्की, नेदरल्याण्ड र पोर्चुगलका रहेका थिए । इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटलहरूमा बम विस्फोटन गराइएको थियो ।