गण्डकी प्रदेश

विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान

गोरखा । शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । गाउँपालिकाले नौवटै वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख सुदिप विकले जानकारी दिए।

“सबै वडाका विपन्न महिला जो दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका छन्, उनीहरुलाई छनोट गरेर अनुदान सहयोग गरिएको हो”, प्रमुख विकले भने, “अनुदान सहयोग गरिएका सबैलाई सम्बन्धित वडा कार्यालय तथा महिला सहकारी संस्थाले नै छनोट गरेर पठाएको हो ।”

विपन्न महिलालाई प्रदान गरिएको अनुदान रकमबाट उनीहरुले दैनिक आयआर्जन हुने खालका साना–साना व्यवसायमा लगानी गर्ने उनले बताए। “अनुदान पाउने विपन्न महिलामध्ये कसैले बङ्गुर पाठा किन्ने, कसैले बाख्राको पाठी किन्ने र कसैले तरकारी खेतीमा लगानी गर्नेछन्, उनले भने, “जुनजुन व्यवसायमा लगानी गरे पनि उनीहरुको आर्थिक आयआर्जनमा वृद्धि गर्न सकियोस् भन्ने हाम्रो लक्ष्य हो ।”

छनोटमा परेका सबै महिलालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले अनुदान उपलब्ध गराइएको शाखा प्रमुख विकको भनाइ छ । गाउँपालिकाले अनुदान प्राप्त गर्ने सबैलाई थोरै रकमबाट पनि कसरी राम्रो आयआर्जन बढाउन सकिन्छ भन्ने विषयमा एकदिने अभिमुखीकरण तालीमसमेत प्रदान गरेको थियो ।