प्रदेश 1

काँग्रेसका नेता सिंहद्वारा सिद्धकाली मन्दिरमा ताम्रपत्र अनावरण

संखुवासभा । चैनपुर नगरपालिका–३ स्थित नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा लगाइएको ज्ञानमहायज्ञमा दान गरेका दाताको नाम ताम्रपत्रमा लेखन गरी पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहबाटआइतबार अनावरण गरिएको छ ।

कार्यक्रममा नेता सिंहले सत्यदेवीको दाहिने आँखा पतन भएको यस धार्मिक शक्तिपीठको समग्र विकासका लागि पुराणको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै ऐतिहासिक मन्दिरको संस्थागत विकास भएकोमा आफू हर्षित भएको बताए।

पुराण आयोजक समितिका अध्यक्ष खगेन्द्र अधिकारीले धार्मिक एवं पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यका साथ लगाइएको ज्ञानमहायज्ञ सप्ताह पुराणमा दानवीर दाताबाट प्राप्त रकमबाट पुराणमा लागेको खर्च कटाएर मन्दिर परिसरमा पर्खाल निर्माण, मन्दिर परिसरमा मञ्च निर्माणलगायतको कार्य गर्नेसमेत बताए।

कार्यक्रम सञ्चालक एवं पुराण आयोजक समितिका कोषाध्यक्ष प्रेमप्रसाद दाहालले पुराणको आय–व्यय विवरण प्रस्तुत गरेका थिए। पुराणमा दाताबाट रु २१ लाख उठेकोमा रु ११ लाख, पर्खाल निमार्ण रु ८ लाख खर्च भएको उनले उल्लेख गरे।