समाचार

पर्यटन व्यवसायबाट देश समृद्ध हुन्छ- गृहमन्त्री थापा

पशुपतिनगर । गृहमन्त्री रामबहादूर थापाले पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी देश समृृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताएका छन् ।भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै उनले हिमश्रङ्खला, नदी खोला, ताल र प्रकृतिमा रम्न आउने पर्यटकलाई सजिलोका लागि संरचना थप्ने काम भइरहेको बताए । उनले विश्वका धेरै देश पर्यटनकै माध्यमबाट धनी भएकाले सरकारले नेपालमा धेरै पर्यटक भित्र्याउन सीमा क्षेत्रमा आवश्यक संरचना तयार गरिरेहेको जानकारी गराए ।

भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्ग आउने तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरि पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले भारत सरकारलाई पनि आफ्नो क्षेत्रमा कार्यालय खोल्नका लागि कुटनीतिक पहल गरिएको बताए ।

कार्यक्रममा अध्यागमन कार्यालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले सरकारले ल्याएको पर्यटन वर्ष–२०२० को लक्ष्य गरी अध्यागमन कार्यालय स्थापना गरिएको जानकारी गराए । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरेको अध्यागन स्थापनापछि भुटान, बङ्गलादेशका पर्यटकलाई सेवा पुग्ने बताए ।