प्रदेश 1

चार करोड भन्दा बढी लागतमा बन्न लागेको भवन गृहमन्त्रीद्वारा उद्घाटन

भोजपुर । गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवनको आज उद्घाटन गरेका छन् । १८ कोठा रहेको उक्त भवन रु चार करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । भवन सरकारको लागतमा निर्माण भएको हो ।

विसं २०६० फागुन १९ गते पुरानो कार्यालय रहेको भवनमा आगजनी गरिएपछि सोही स्थानमा नयाँ कार्यालय भवन निर्माण गरिएको हो । भवनसँगै मन्त्री थापाले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको पनि उद्घाटन गरेका छन् ।

आपतकालीन केन्द्र सञ्चालनका लागि सात स्थानीय तहले रु एक/एक लाख बराबरको भौतिक सामग्री सहयोग गर्ने र भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको व्यारेक परिसरमा नाइटभिजन सुविधासहितको हेलिप्याड निर्माण भइरहेको कार्यक्रममार्फत जानकारी दिइएको छ ।