अन्तर्राष्ट्रिय

एनआरएको अध्यक्षबाट ओलिभर नर्थको राजीनामा

इन्डियानापोलिस । अवकाशप्राप्त अमेरिकी कर्नेल ओलिभर नर्थले अमेरिकी राष्ट्रिय राइफल एसोसिएसन (एनआरए) बाट शनिबार राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक मानिने यस संस्थाभित्र चरम आर्थिक अनियमितताको आरोप लागेपछि ओलिभरले राजीनामा दिएका हुन्।

एनआरएको इन्डियानापोलिसमा आयोजित वार्षिक बैठकमा ओलिभरले राजीनामा बुझाएका थिए । उनले आफू एनआरएको अध्यक्षमा दोस्रो कार्यकालका लागि उम्मेदवार नहुने स्पष्ट गरेका छन्। एनआरएका प्रमुख कार्यकारी वायने लापियरले आफूलाई पदबाट हटाउने मनशायले गलत सूचना सार्वजनिक गर्ने ओलिभरले धम्की दिएको कुरा सार्वजनिक भएसँगै ओलिभरले राजीनामा दिएका थिए ।

यससम्बन्धी एक पत्र लापियरले एनआरएको बोर्डमा समेत प्रस्तुत गरेका छन् । उक्त पत्र अमेरिकी अखबार वालस्ट्रिट जर्नलले शुक्रबार प्रकाशन गरिसकेको छ । एनआरएका अधिकारीहरुले यस बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । न्यूयोर्क टाइम्सले पनि न्यूयोर्क महान्यायाधीवक्ता लेटिटिया जेम्सले यस समूहको करका बारेमा अनुसन्धान गर्न लागेको बताएको छ ।

एनआरएका अध्यक्ष ७५ वर्षीय ओलिभर नर्थ मे २०१८ मा अध्यक्षमा चुनिनु भएको थियो । यो संस्थामा ५० लाखभन्दा बढी सदस्य छन् । यो संयुक्तराज्य अमेरिकामा बन्दुकका बारेमा निर्णय गर्ने सर्वाधिक शक्तिशाली र निकै बलियो सञ्जाल भएको संस्था पनि हो ।