प्रदेश 1

आयआर्जन गर्न अपाङ्गतालाई बाख्रा सहयोग

बेझाड । आयआर्जनका निम्ति उपहारस्वरुप बाख्रा पाएपछि अपाङ्गतामा खुशीयाली छाएको छ । रामपुर नगरपालिका–२ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर बाख्रा वितरण गरेपछि उनीहरुमा खुशी र उमङ्ग छाएको हो ।

अपाङ्गता भएका व्यक्ति भनेपछि घरपरिवार, छरछिमेक, आफन्त, साथीभाइले हेयको दृष्टिकोण राख्ने गर्छन् । आयआर्जन गर्न उनीहरुलाई अन्यत्र जान सहज छैन । गाउँघरमै बसी बाख्रापालन व्यवसाय गरेर आम्दानी गर्न उत्प्रेरित गराउन वडा कार्यालयले बाख्राको पाठी प्रदान गरेको हो ।

वडामा बसोबास गर्दै आएका ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता परिचयपत्र पाएका आठ व्यक्तिलाई आयआर्जन गर्न एक/एक बाख्राको पाठी प्रदान गरिएको वडाध्यक्ष ताराबहादुर थापाले बताए । “वडामा रहेका आठ व्यक्तिलाई कार्यालयको रु ४० हजारको बजेटमा बाख्राको पाठी सहयोग गरेका छौँ, उनीहरुले घरमा बसीबसी बाख्रा पालेर आयस्रोत बढाउनेछन् भनेर यो कार्यक्रम ल्याएका हौँ”, उनले भने ।

‘क’ र ‘ख’ वर्गका अपाङ्गता परिचयपत्र पाएका नागरिकले नेपाल सरकारले प्रदान गर्दै आएको सेवासुबिधा उपयोग गरिरहेकाले ‘ग’ र ‘घ’ वर्गका व्यक्तिलाई मात्र बाख्राको पाठी वितरण गरिएको वडा अपाङ्गता समन्वय समितिका संयोजक रामबहादुर अधिकारीले बताए ।

“राम्रोसँग पालनपोषण गरियो भने धेरै बाख्रा पाल्नु पर्दैन, एक बाख्राबाट पनि राम्रै आम्दानी लिन सकिन्छ”, उनले भने । यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिमा हौसला प्रदान गरेको रीतु थापाले बताए । उनले एक बाख्रा पालेर राम्रो आम्दानी गर्ने सपना बोकेका छन् ।

त्यस्तै दिलबहादुर थापा पनि बाख्रा पाएपछि खुशीयालीसँगै आयआर्जन गर्ने बाटो खुलेको बताए । अपाङ्गता भनेर हेला गर्नेका लागि राम्रो कमाइ गरेर नमूना व्यक्ति बन्ने सपना छ, बाख्रापालन व्यवसायबाट ।

वडाले अघिल्लो वर्ष अपाङ्गतालाई लक्षित गरेर कुखरा वितरण कार्यक्रम, विभिन्न तालीम आयोजना गरेको थियो । वडा कार्यालयबाट व्यवसायका लागि प्रोत्साहन स्वरुप प्रदान गरिएको कुखुराले अहिले आयआर्जन राम्रो दिएको थर्कबहादुर कुमालले बताए । उनले वडा कार्यालबाट पाएको दश कुखरामा आफूले केही स्थानीय जातका कुखुरा थपेर व्यावसायिकरूपमा नै गर्दै आएको बताए। गत वर्ष यहाँका २० जनालाई वितरण गरेको कुखुराले राम्रो आम्दानी दिएको छ ।