खेलकुद

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

काठमाडौँ । नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् ।

फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भए । उनले पहिलो सेट १५–२१ अङ्कले तथा दोस्रो सेट १३–२१ अङकले गुमाएको बैङ्ककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिनुभयो । यसअघि शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा हराएका थिए ।

उनले २१–९ र २१–१३ अङ्कले उक्त खेल जित्दै फाइनमा स्थान बनाएका थिए । विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता रहेको छ । प्रिन्सले गत वर्ष असोजमा युनाइटेड अरब इमिरेट्स ‘युएई’को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यू–१५ मा इन्डोनेशियका खेलाडीलाई पराजित गरी उपाधि जितेका थिए ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो । सो प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इन्डोनेशिया, स्विडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी थिए ।