समाचार

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह शुरु

काठमाडौँ । कार्यस्थलमा अपनाउनुपर्ने व्यवसायजन्य सुरक्षा तथा श्रमिकका स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ का अवसरमा आजदेखि ‘१९औँ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ शुरु भएको छ ।

विभिन्न प्रकृतिका श्रमको सिलसिलामा उत्पन्न हुने खतरा तथा जोखिमबाट श्रमिकको जीवनमा पर्न सक्ने असर न्यूनीकरण गर्ने अभिप्रायले ‘कामको भविष्य र सुरक्षा तथा स्वास्थ्य’ भन्ने नाराका साथ सुरक्षा तथा स्वास्थ्य सप्ताह मनाउन लागिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

स्वास्थ्य तथा सुरक्षितरुपमा काम गर्ने वातावरण स्थापना गर्न सबै सरोकारवाला निकायको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०५७ सालदेखि अप्रिल २८ तारिखका दिन विश्वभर सप्ताहव्यापीरुपमा श्रमिक स्वास्थ्य, सुरक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम गर्दै ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा उक्त विभागले सरोकारवालाको सहभागितामा आज बिहान वसन्तपुरबाट नेपाल प्रज्ञा प्रतिष्ठानसम्म प्रभातफेरी कार्यक्रम आयोजना ग¥यो । वसन्तपुरबाट शुरु भएको प्रभातफेरी नयाँ सडक, वीर अस्पताल, रत्नपार्क हुँदै कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा सहभागीले व्यावसायिक सुरक्षा तथा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने प्लेकार्ड तथा ब्यानर बोकेका थिए । प्रभातफेरीमा नेपाल सरकारको उच्च अधिकारी, श्रमिक सङ्घसङ्गठनका पदाधिकारी, रोजगारदाता, विभिन्न क्षेत्रमा कार्यरत श्रमिक, प्राविधिक शिक्षा लिइरहेका विद्यार्थीलगायतको उल्लेख्य सहभागिता थियो ।

प्रभातफेरीपछि आयोजित सङ्क्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यावसायिक सुरक्षा तथा श्रमिकका स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक पर्ने कार्ययोजना पेश गर्न विभागलाई निर्देशन दिए। उनले भने, “अझै पनि श्रमिकहरु न्यूनतम सुरक्षाका उपाय अवलम्बन नगरी काम गर्न बाध्य छन्, व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई सम्पूर्ण श्रमिकसमक्ष पु¥याउन कार्ययोजना निर्माण गर्नुहोस्, एक वर्षभित्र गर्नुपर्ने कार्ययोजनाको कार्यतालिका बनाएर पेश गर्नू ।”

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहालले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय समझदारीका रुपमा व्यवसायजन्य राष्ट्रिय सुरक्षा नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढाइएको बताए । उनले व्यवसायजन्य सुरक्षा श्रमिकको अधिकार भएको उल्लेख गर्दै न्यूनतम सुरक्षात्मक उपाय अपनाउन श्रमिक स्वयम सचेत हुनुपर्नेमा जोड दिए ।

रोजगारदाताका प्रतिनिधि मोहन कटुवालले व्यवसायजन्य सुरक्षा तथा श्रमिकको स्वास्थ्यप्रति रोजगारदाता संवेदनशील रहेको बताउँदै रोजगारदाताबाट उपलब्ध गराउनुपर्ने व्यवसायजन्य सुरक्षामा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले ठूला भनिएका औद्योगिक प्रतिष्ठानले पनि व्यवसायजन्य सुरक्षा र श्रमिकको स्वास्थ्यप्रति चासो नदेखाएको पाइएको उल्लेख गर्दै यससम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहअन्तर्गत यही वैशाख १६ गते अटो व्यवसायी सङ्घको सहकार्यमा अटो श्रमिकका लागि निःशुल्क आँखा शिविर, १७ गते काठमाडौँ उपत्यकामा रहेको इँटा उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य परीक्षण, १९ गते काठमाडौँ उपत्यकाभित्रका औद्योगिक क्षेत्रमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी प्रचारप्रसार र २१ गते सरोकारवाला निकायको सहभागितामा बृहत् अन्तरक्रिया गरिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका प्रमुख वरुणकुमार झाले जानकारी दिए ।