कर्णाली प्रदेश

प्रदेश सरकारले टुक्रे योजना नियन्त्रण गर्ने

रारा (मुगु) । चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा टुक्रे योजना दिएको आलोचना भएपछि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले यस्ता योजनालाई नियन्त्रण गर्ने जनाएको छ ।

मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालू आवमा विविध समस्या र अड्चनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आवमा तिनलाई सच्याउँदै एक करोडभन्दा मुनिका टुक्रे योजना नबनाउने बताए।

चालू आवमा विभिन्न कानून, कार्यविधि तथा निर्देशिका बनाउनुपर्ने, कुन योजना कसले चलाउने भन्ने विषयमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच अन्यौल रहेकाले चालू आवमा विकास बजेटको खर्चको अवस्था निराशाजनक देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म उत्साहजनक रुपमा खर्च हुने उनले बताए।

प्रदेश सरकारले मन्त्री र प्रदेशसभा सदस्यहरुको पहुँचका आधारमा बजेट दिएकाले मन्त्री नभएका जिल्लामा बजेट न्यून दिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा पहुँचका आधारमा नभई सबै जिल्लाको सम्भावना र आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने जवाफ दिए।