गण्डकी प्रदेश

विद्यार्थी कम भएपछि विद्यालय समायोजन गरियो

दमौली । विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित तीन वटा सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ । वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको उक्त नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिए।

उनका अनुसार समायोजन भएका विद्यालयहरुमा तीन कक्षासम्म अध्यापन हुन्थ्यो । उनले भने, “विद्यार्थी सङ्ख्या न्यून भएका र नजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजीकको विद्यालयमा समायोजन गरिएको छ । नगर शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो ।”

समायोजन भएका विद्यालयमा बाल विकास केन्द्र भने यथावत् रहने शाखा प्रमुख पौडेलले बताए । नगरपालिकाले भिमाद नगरपालिका–७ स्थित पोखरीछाप आधारभूत विद्यालयको दुई माथिल्लो कक्षा हटाएको छ । कक्षा ५ सम्म पढाइ हुँदै आएको विद्यालयमा कक्षा ४ र ५ हटाइएकाले अब त्यहाँ कक्षा ३ सम्म पढाइ हुनेछ । नगर क्षेत्रभित्र ६५ सामुदायिक विद्यालय छन् ।

आठ विद्यालयलाई नमूना बनाइने

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आठ सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने भएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ । नगरपालिका क्षेत्रभित्र ५९ सामुदायिक विद्यालय छन् ।

पहिलो चरणमा गाउँफर्कोदय मावि, खैरेनीटार मावि, सरस्वती मावि, जनकल्याण मावि, कुश्मावती आधारभूत विद्यालय, जनशिशु कल्याण आधारभूत विद्यालय, शहीदकृष्ण मावि र सूर्य आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाइने नगरप्रमुख किसान गुरुङले जानकारी दिए।

उहाँका अनुसार ती विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापन सुधार गरिनेछ । नगरपालिकाले चालू आवमा नमूना विद्यालय बनाउन रु ३८ लाख विनियोजन गरेको छ ।