खेलकुद

एशियन कप ट्राइयाथलनको उपाधि जापानका माकोतोलाई

कास्की । पोखरामा आयोजना भएको एशियन कप ट्राइयाथलन च्याम्पियनसिपको उपाधि जापानका माकोतो ओदाकुराले जितेका छन् । नेपाल ट्राइयाथलन सङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय ट्राइयाथलन युनियनको प्राविधिक सहयोगमा शनिबार भएको च्याम्पियनसिपमा ओदाकुराले ५४ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पूरा गरी स्वर्ण पदक जितेका हुन् ।

फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड सम्मिलित ट्राइयाथलनमा १९ जना प्रतिस्प्रर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । त्यस्तै पोल्याण्डका डान म्याकटोसले ५४ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै रजत तथा कोरियाका जी ह्वान किमले ५५ मिनेट ०२ सेकेण्डमा पूरा गरी कास्य पदक पाए ।

महीलातर्फको प्रतिस्पर्धामा एक घण्टा २ मिनेट ५६ सेकेण्डमा दूरी पूरा गर्दै कोरियन खेलाडी ए जिनले स्वर्ण पदक प्राप्त गरिन् । जापानकी कोनामी यासिओडाले एक घण्टा तीन मिनेट ५१ सेकेण्डमा पूरा गर्दै रजत तथा जापानकै नाओमी ताकामिनेले एक घण्टा चार मिनेट ५५ सेकेण्डको समयमा पूरा गरी कास्य पदक पाए ।

प्रतियोगितामा नेपालसहित जापान, कोरिया, काजकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बङ्गलादेशका पुरुषतर्फ १९ र महिलातर्फ आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सातौँ संस्करणको दक्षिण एशियाली ट्राइयाथलनको पुरुषतर्फको उपाधि नेपालका वसन्त थारुले जितेका छन् । उनले उक्त दूरी एक घण्टा तीन मिनेट ५८ सेकेण्डमा पार गरी स्वर्ण पदक पाए ।

यसैगरी सोही प्रतिष्पर्धामा एक घण्टा ७ मिनेट १३ सेकण्डमा दूरी पार गर्दै भारतका लोकेशकुमार बाबुजी दोस्रो तथा एक घण्टा आठ मिनेट दूरी पार गरेका नेपालका नितेश मानन्धरले तृतीय स्थान हासिल गरे । महिलातर्फ प्रथम र द्वितीय भारतकी प्रग्न्या मोहन तथा मोनिका मुकेशभाइ नागपुरी भए । उनीहरुले क्रमशः स्वर्ण तथा रजत पदक पाए । नेपालकी सोनी गुरुङ तृतीय भई कास्य पदक पाइन् । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थ तथा विकास समिति सभापति दीपक कोइराला लगायतले पुरस्कार वितरण गरे।