समाचार

बेइजिङस्थित राजदूतावासमा राष्ट्रपति भण्डारी

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली/बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङस्थित नेपाली राजदूतावासमा शनिबार आयोजित स्वागत कार्यक्रममा उपस्थित भएकी छन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताबीच आरम्भ भएको नेपाल तथा चीनबीच सम्बन्ध हजारौँ वर्षदेखि घनिष्ठ रहँदै आएको र हाल यो सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताए । उनले चीनले नेपालको विकास प्रयासमा दिएको सहयोगको सराहना गर्दै विनाशकारी भूकम्पका समयमा तत्कालको राहत तथा पुनःनिर्माणको कार्यमा चीनको प्रयास अविस्मरणीय रहेको उल्लेख गरे ।

मन्त्री ज्ञवालीले नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधीनतामा चीनको समर्थनप्रति सम्मान व्यक्त गर्दै नेपाल एक चीनको नीतिमा अडिक रहेको बताए । उनले चीनले ‘सुधार र खुलापन’ पछिको ४० वर्षमा अभूतपूर्व उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गरे ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङस्थित नेपाली दूतावासले मुलुकको सामाजिक, आर्थिक र पर्यटकीय प्रचारप्रसारमा ठोस काम गरिरहेको जानकारी दिए । उक्त कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिको पनि उपस्थिति थियो ।