साहित्य

कवि घिमिरेको जन्मोत्सवमा पुस्तक सार्वजनिक

काठमाडौँ । साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ७० औँ जन्मोत्सवका अवसरमा आयोजित साहित्यिक कार्यक्रममा उनका दुई पुस्तक सार्वजनिक गरिएको छ ।

घुम्ती कवि गोष्ठीको ७८ औँ शृङ्खला र अभिनव साहित्य समाज परिवारको संयुक्त आयोजनामा कवि घिमिरेको निवास जोरपाटीमा भएको कार्यक्रममा सांसद कृष्ण राईले ‘पुतलीको दोहोलो’ र खैरे ‘स्यालको चलाखी’ शीर्षकका दुई नैतिक बाल कथा सङ्ग्रह सार्वजनिक गरे ।

पुस्तक विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको हो । दुवै पुस्तक संस्थागत विद्यालयले क्रमशः कक्षा ५ र ६ को पाठ्यक्रममा राखेको जानकारी पनि सो अवसरमा गराइयो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले राजनीति र साहित्य अलग विषय भए पनि एक अर्कामा सम्बन्ध रहेको बताए ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले प्रदेश सरकारका तर्फबाट यस क्षेत्रको साहित्यिक उन्नयनका लागि सहयोग गराउने प्रतिबद्धता जनाए । कवि गोष्ठीमा साहित्यकार शीतल गिरी, बाजुराम पौड्याल, डिल्लीराज अर्याल, शङ्र भारती, निबन्ध आचार्य, ढुण्डीराज पोखरेल, ईश्वर सापकोटा, विश्वनाथ दाहाल, रामप्रसाद सञ्जेललगायतले आफ्ना रचना पाठ गरेका थिए ।