आर्थिक

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

काठमाडौँ । नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । कारोवार रकममा समेत उच्च वृद्धि भएको छ । शेयर बजारले लय समातेको पाइएको छ ।

आइतबार कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर रु एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७३२ मूल्यमा खरीद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई रु १५ खर्बमाथि पुग्यो ।

लगातार उकालो लाग्दै आएको शेयर बजार सोमबार भने बिराम लाग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ७.२६ बिन्दुले घटेर एक हजार २५६.९४ बिन्दुमा झ¥यो । उक्त दिन कूल १६८ कम्पनीको ३२ लाख ५९ हजार ४९६ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख ३९ हजार मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक ३.७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुग्यो । सो दिन कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भए । मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार बुधबार भने दोहोरो अङ्कले वृद्धि भएको छ ।

बुधबार कारोवार मापक नेप्से परिसूचक १९.१४ विन्दुले बढेर एक हजार २७९.२९ विन्दुमा पुग्यो । यस्तै साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अङ्कको वृद्धि भयो । कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीका ४५ लाख १९ हजार ५८२ कित्ता शेयर रु एक अर्ब ३५ करोड ७५ लाख ५४ हजार २२१ मूल्यमा खरीद बिक्री भए ।

साताभर बजारमा वाणिज्य बैंककै दबदबा कायम रह्रयो । नेपाल बैंक, जनता बैंक, प्रभु बैंक, एनसिसी बैंक, सिभिल बैंक, ग्लोबल आइएमइ बैंकलगायतका वाणिज्य बैंकको शेयर अग्रस्थानमा रह्यो । यस साता लक्ष्मी बैंकको ६९ लाख ८८ हजार ४१६ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ ।