कर्णाली प्रदेश

घरेलु टोलीको लगातार जीत

सुर्खेत । घरेलु टोली कर्णाली–११ वीरेन्द्रजगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग ‘केपिएल’ मा लगातार जीत हात पार्न सफल भएको छ ।

कालिञ्चोक क्रिकेट मैदानमा आज भएको खेलमा समूह ‘ए’ अन्तर्गत कर्णाली–११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै दोस्रो जीत हात पार्न सफल भएको हो । कर्णाली सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा चार विकेट गुमाएर १४८ रनको योगफल तयार गरको थियो ।

लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिम क्रिकेट क्लबले पूरै २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो । मध्यपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णालीका लागि कृष्ण कार्कीले सर्वाधिक तीन तथा किशोर महतोले दुई विकेट लिए । कसिलो बलिङ गरेका कृष्णले चार ओभरमा एक मेडन ओभरसहित ११ रन मात्र खर्चिए। जीतेन्द्र सिंह ठकुरी र ललित प्याकुरेलले समान एक/एक विकेट लिए।

मध्यपश्चिमको लागि शैलेन्द्र यादवले सर्वाधिक ३१, राजवीर सिंहले ३० तथा आकाश विष्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन । खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिए। यसअघि पहिले ब्याटिङ गर्ने क्रममा कर्णालीका लागि कप्तान रवीन्द्रजङ्ग शाहीले अविजित ६१ रनको योगदान दिए । त्यस्तै कृष्ण कार्कीले आक्रामक इनिङ्ग खेल्दै अविजित ४६ रन बनाउन मात्र २७ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।