गण्डकी प्रदेश

जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान

पर्वत । जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो ।  स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो ।

यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन तथा रेकर्ड रहनेछ । लोजान युनिभर्सिटीले विभिन्न देशको सहकार्यमा नेपालमा जडान गरिरहेका २३ ‘सिस्मोमिटर’को जडानको काम सोही विश्वविद्यालयमा सिस्मोलोजी अर्थात् भूकम्प अध्ययनसम्बन्धी विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले गरिरहेका छन् ।

विद्यालयमा ‘सिस्मोमिटर’ जोडेमा मुख्य गरी विद्यार्थीले भूकम्पको बारेमा जान्ने र बुझ्ने अवसर पाउने भएका कारण विद्यालयमै यन्त्र जडान गरिएको उनले बताए । नेपाली वैज्ञानिक सुवेदीका अनुसार एक ठाउँमा यो ‘सिस्मोमिटर’ जडान गर्न कम्तीमा पनि रु एक लाखभन्दा बढी खर्च हुन्छ । विद्यालयमा यन्त्र जडान गरेपछि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई भूकम्पका बारेमा अध्ययन गर्न र अन्य विषय अध्ययन गर्ने विद्यार्थी पनि यस विषयमा जानकार हुन पाउने विद्यालयका प्रअ राजकुमार शर्माको भनाइ छ ।