गण्डकी प्रदेश

प्रवलीकरणप्रति लाभग्राहीले देखाएनन् चासो

गलकोट । विसं २०७२ को भूकम्पमा सामान्य क्षति पुगेका घरलाई जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले प्रवलीकरण (रेक्ट्रोफिट) को तयारी गरे पनि लाभग्राहीले चासो देखाएका छैनन् । आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले प्रवलीकरणका लागि सर्वेक्षण गरेका जिल्लाका ८२ लाभग्राहीले प्रवलीकरणका लागि चासो नदिएका हुन् ।

आयोजनाका अनुसार ८२ प्रवलीकरणका लाभग्राहीमध्ये ५१ घरले सम्झौता गरेर पहिलो किस्तावापतको रु ५० हजार लगेका छन् भने ३१ घर सम्झौता गर्न आएका छैनन् । सरकारले भूकम्पपछि पूर्ण लाभग्राही र प्रवलीकरण गर्न मिल्ने दुई प्रकारमा सर्वेक्षण गरेकोमा पूर्ण लाभग्रहीले घर निर्माणमा चासो देखाए पनि प्रवलीकरण गर्नुपर्ने लाभग्राहीले बेवास्ता गरेको आयोजना प्रमुख इञ्जिनीयर रामाशिष साहले बताए।

भूकम्पछिको पुनःनिर्माण झण्डै ५० प्रतिशत बढी प्रगति भएको यस जिल्लामा हालसम्म एउटा घरसमेत प्रवलीकरण नभएको साहको भनाइ छ । “३१ लाभग्राही प्रवलीकरणको सम्झौता गर्नै आएनन्”, साहले भने, “सम्झौता भएका घरले पहिलो किस्ता लगेर प्रवलीकरणमा चासो नदेखाउँदा काम गर्न समस्या भएको छ ।” सरकारले पूर्णरूपमा घर क्षति पुगेकालाई पूर्ण लाभग्राही तथा सामान्य क्षति पुगेकालाई प्रवलीकरणमा समावेश गरेर अनुदानको कार्यक्रम ल्याएको छ । पूर्ण लाभग्राहीले तीन किस्तामा रु तीन लाख पाउनेछन् ।

प्रवलीकरण लाभग्राहीले दुई किस्तामा रु एक लाख पाउनेछन् । भूकम्पमा सामान्य क्षति पुगेकालाई प्रवलीकरण गरेमा भूकम्प प्रतिरोधी बनाउन सकिने प्राविधिक बताउँछन् । प्राविधिकलाई विशेष किसिमको तालीम प्रदान गरेर प्रवलीकरणका लागि लाभग्राहीको घरमा पठाउने तयारी गरिरहेको भए पनि लाभग्राहीले त्यसो गर्न नचाहेको आयोजना कार्यान्वयन एकाइले जनाइको छ । जिल्लामा निजी आवासका पुनःनिर्माणका लागि दुई हजार ३७५ ले निवेदन दिएकामा दुई हजार ११३ ले योजना सम्झौता गरी प्रथम किस्ता लगेका छन् ।

एक हजार ३९ ले दोस्रो किस्ता र ६१५ लाभग्राहीले अन्तिम किस्ता लगेको अयाजना कार्यान्वयन एकाइका नायबसुब्बा चुर्ण कार्कीले जानकारी दिए। कार्कीका अनुसार २६२ ले निजी आवास पुनःनिर्माण गर्न सम्झौता गर्नै नआएको र एक जनाले सम्झौतापछिको रु ५० हजार रकम फिर्ता गरेका छन् । यस्तै छुट तथा पुनःसर्वेक्षणका लागि हालसम्म ७०६ लाभग्राहीले निवेदन दिएको बताइएको छ । एकाइका अनुसार जिल्लामा ४० विद्यालय, एक गुम्बा, तीन एकीकृत बस्ती तथा बुर्तिवाङ–खुङ्गा हुँदै बोङगादोभानको ९.८ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छन् ।