लुम्बिनी

गाउँपालिका आफैँले पाठ्यक्रम निर्माण गरी पठनपाठन शुरु

बेझाड । पाल्पाको माथागढी गाउँपालिकाले शिक्षामा नयाँ अभ्यास शुरु गरेको छ । गाउँपालिका आफैँले पाठ्यक्रम निर्माण गरेर यसै शैक्षिकसत्रदेखि पठनपाठन शुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा १ देखि ६ सम्म सय पूर्णाङ्कको हाम्रो माथागढी पुस्तक तयार पारी स्थानीय पाठ्यक्रम लागू गरेको छ । यो जिल्लामै स्थानीय पाठ्यक्रम लागू भएको नयाँ शुरुआत हो ।

हाम्रो माथागढी पाठ्यक्रममा स्थानीयस्तरका १६ विषयवस्तु समावेश गरिएको छ । जसअन्र्तगत माथागढीको चिनारी, माथागढीको ऐतिहासिक पृष्ठभूमि, स्थानीय जातजाति, भाषाभाषी, ऐतिहासिक महत्वपूर्ण व्यक्तिको जीवनी परिचय र वडावडाको जनसङ्ख्याको अवस्था, स्थानीय विविध संस्कृति, प्रचलित स्थानीय संस्कार, स्थानीय कला र सम्पदा छन् ।

त्यस्तै स्थानीय बोलीचाली र लिपि, व्यवसाय सीप र प्रविधि, उपचार विधि, जडीबुटीको अवस्था, खेल, भूगोल, आर्थिक गतिविधि, जीविकोपार्जन र पर्यटनको विषयवस्तु समेटिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए। “स्थानीयस्तरकै पाठ्यपुस्तक समावेश भयो भने गाउँपालिकाभित्रका रहनसहन, ऐतिहासिक वस्तु, संस्कार, संस्कृति, भूगोलकाबारेमा विद्यार्थीले बुझ्ने अवसर पाउँछन्”, उनले भने।

केन्द्रीय पाठ्यक्रम विकास केन्द्र काठमाडौँसँगको परामर्श तथा स्वीकृतिमा सरोकारवाला सबैको सल्लाह र सहयोगमा गााउँपालिकाले स्थानीयस्तरको पाठ्यक्रम तयार गरी लागू गरेको उनी बताउँछन् । चालू शैक्षिकसत्रबाट लागू गरेको हाम्रो माथागढी पाठ्यक्रमको प्रारुपमा स्थानीय पाठ्यक्रमको परिचय, साधारण उद्देश्य, माथागढीको स्थानीय पाठ्यक्रमको उद्देश्यमा आधारित छ ।

कक्षागत पाठ्यक्रम परिचय कक्षा १ र ६ को स्तर भिन्नताका आधारमा र माथागढी स्थानीय पाठ्यक्रमको कक्षा १ र ६ को कक्षागत उद्देश्य पाठ्यक्रमको विषयवस्तु रहेको छ । कक्षा १ देखि ८ सम्म एउटै भए पनि कक्षाअनुसारको त्यसभित्रको गहिराइ र विषयवस्तु सरलताबाट जटिलताको सिद्धान्तअनुसार रहनेछ । स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक अशेष भट्टराईले आधारभूत तहमा लागू भएको स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको रहने बताए। सैद्धान्तिक ५० र प्रयोगात्मक ५० पूर्णाङ्कको हुनेछ ।

मूल्याङकन प्रणाली कक्षा १ देखि ३ सम्म निरन्तर मूल्याङ्कनको आधारमा तोकिएको नमूनाअनुसार हुनेछ । कक्षा ४ देखि ८ सम्म परीक्षा प्रणालीअनुसार वस्तुगत, विषयगत तथा लामा छोटा प्रश्न समावेश गरी सैद्धान्तिक परीक्षाको मूल्याङ्कन गरिनेछ । स्थानीय तहले एक सय पूर्णाङ्कसम्मको पाठ्यक्रम बनाउन सक्छ । यस पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले रु तीन लाख रकम बजेट विनियोजन गरेको थियो । आधारभूत तहअन्र्तगत लागू गर्ने भनिए पनि यस शैक्षिकसत्रमा कक्षा १ देखि ६ सम्म शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।