बाग्मती

अपाङ्गता भएकालाई मोबाइल तालीम शुरु

बनेपा । सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले चार जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वरोजगार तथा सीपमूलक मोबाइल मर्मत तालीम काभ्रेपलाञ्चोकको धुलिखेलमा शुरु गरेको छ । विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले सीप सिकेर जीवनयापन सहज होस भनेर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रत्येक जिल्लाबाट पाँच/पाँच गरी २० जनालाई सो तालीम आयोजना गरिएको हो ।

प्रदेशसभा सदस्य चन्द्र लामाले शुक्रबार सो तालीमको उदघाट्न गर्दै व्यक्ति सक्षम हुनका लागि बजारमा बिक्ने किसिमको तालीम दिन र लिन आवश्यक भएको बताए। सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख इन्दिरा ओझाले सीप सिकेर परिवर्तन ल्याउन सकून् भन्ने उद्देश्यले मन्त्रालयले तालीम आयोजना गरेको बताए। व्यावसायिक तथा सीप विकास तालीम केन्द्र प्रदेश नं ३ हेटौँडाका प्रमुख युवराज गुरुङले दशतिर धाएर प्रमाणपत्र थुपार्ने भन्दा पनि सीप सिकेर व्यावसायिक बन्न आवश्यक भएको धारणा राखे।

राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश नं ३ का अध्यक्ष आश्विन लम्सालले व्यावसायिक तथा स्वरोजगार तालीमसँगै हरेक क्षेत्रमा अपाङ्मैत्री भवन र कार्यालयको ब्यवस्थापन हुनुपर्ने बताए। सहभागी सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ छापका विनोद श्रेष्ठले पहिला पनि मोबाइल मर्मत तालीम लिएर काम गरेको भए पनि भूकम्पले क्षति पुर्‍याएपछि छाडेको र अहिले पुनः निरन्तरता दिनका लागि तालीममा सहभागी भएको बताए। ‘हत्केलामा सीप थमाइ सिर्जनशील बनौँ, उद्यमशीलता, रोजगारी, आयआर्जनको दायरालाई फराकिलो बनाई जीवनस्तर समृद्ध पारौँ’ भन्ने नारासाथ शुरु तालीम तीन महीनासम्म चल्नेछ ।