उर्जा

चिसापानी बजारका ६६ घरमा विद्युत् विस्तार

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–५ स्थित चिसापानी बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । सो क्षेत्रको प्रमुख व्यापारिक केन्द्र रहेको चिसापानी बजारका ६६ घरमा विद्युत् विस्तार गरिएको हो ।

गाउँपालिका, विद्युत् प्राधिकरण र संसदीय विकास कोषको बजेटबाट विस्तार गरिएको विद्युत् लाइनको शुक्रबार सांसद विशाल भट्टराईले उद्घाटन गरे। जिल्लाको दुर्गम क्षेत्रमा पर्ने चिसापानीबजारमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेसँगै स्थानीयवासीमा खुशीयाली छाएको छ । टुकी र सोलारको भरमा रात कटाउँदै आएका स्थानीयवासीको घरमा चौबीसै घण्टा बिजुली बलेपछि हर्षित भएका छन् ।

विद्युत् विस्तार भएसँगै चिसापानी बजारमा इमेल/इन्टरनेट, कम्प्युटर चलाउन, टेलिभिजन हेर्न, कुटानीपिसानीका मिल सञ्चालन लगायतका काम सहज भएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि सबैभन्दा बढी विद्यार्थीलाई सहज भएको गाउँपालिका प्रमुख शङ्करमान राईले बताए । गाउँपालिकाको केन्द्रबाट विस्तार शुरु गरिएको विद्युत् क्रमशः बाँकी वडामा पनि विस्तार गर्ने काम भइरहेको जनाइएको छ ।