सुदूरपश्चिम

करीब एक घण्टा परेको असिनापानीले हिउँउदेबाली नष्ट

डडेलधुरा । डडेलधुरा अजयमेरु गाउँपालिकामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारी लगायतका हिउँदेबालीमा क्षति पुर्‍याएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्ले लगायतका आधा दर्जन गाउँमा असिनापानीले गहुँ, जौँलगायत फलफूल र तरकारी बाली पूर्णरूपमा नष्ट भएको छ ।

दिउँसो करीब एक घण्टा परेको असिनापानीले पाक्न थालेको गहुँ र जौँसहित अन्य अन्नबाली पूर्णरूपमा नष्ट भएको अजयमेरु–१ का लक्ष्मी भट्टले जानकारी दिए। साथै ओखर, जुनार, सुन्तलामा समेत क्षति पुगेको भट्टको भनाइ थियो । त्यस्तै तरकारी पनि पूर्णरूपमा नष्ट भएको खतेडाका किसान धर्मानन्द भट्टले बताए ।

भित्र्याउनै लागेको गहुँबाली पूर्णरूपमा नष्ट भएपछि खाद्यान्नको अभाव हुने भन्दै स्थानीयबासिन्दा गणेश पाण्डेले चिन्ता व्यक्त गरे। गाउँपालिकाको लेकाली गाउँमा गँहु प्रमुख खाद्यबालीका रूपमा रहेको बताउँदै पाण्डेले भने, “ गहुँबाली नष्ट हुँदा अब के खाने भन्ने पीरले सताएको छ ।”

असिनापानीले भएको क्षतिको अनुगमन गरेर विवरण लिने काम भइरहेको र क्षतिपूर्तिका लागि कार्यपालिकाको बैठकबाट निर्णय लिने गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए । यसैगरी गाउँपालिकाको टोलीले असिनापानीले क्षति गरेको स्थानको अनुगमन गरी क्षतिको विवरण लिने काम भइरहेको र छिट्टै राहत उपलब्ध गराउने बताइएको छ । करीब ४५ वर्षपछि यति ठूलो असिनापानी परेको स्थानीयवासी वडा नं १ का अध्यक्ष दत्तीसिंह भण्डारीले बताए।