समाचार

प्रदेश २ को विकासविना मुलुकको विकास सम्भव छैन: उपप्रधानमन्त्री यादव

लहान । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ समृद्ध नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताएका छन्।

सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को अविधेशनको शुक्रबार सिरहाको लहानमा उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले मुलुकको विकास र समृद्धिको प्रमुख आधार क्षेत्र नै प्रदेश नं २ भएकाले यहाँको विकास नभएसम्म मुलुकको विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए।

मुलुकको आमूल परिवर्तनमा यो प्रदेशले अहम भूमिका खेलेको चर्चा गर्दै सङ्घीय समाजवादी फोरमका अध्यक्षसमेत भएका उपप्रधानमन्त्री यादवले सरकारले हरेक क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम अघि बढाएको बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संबिधान प्रदत प्रदेश सरकारको अधिकार कटौती गर्ने प्रयास भएको भन्दै प्रदेश सरकारलाई अधिकार सम्पन्न नबनाएसम्म यस क्षेत्रको विकास हुन नसक्ने बताए। दुई दिनसम्म चल्ने अधिबेशनले प्रदेश २ को समिति चयन गरिने फोरमले जनाएको छ ।