कर्णाली प्रदेश

वाइवाई कर्णाली प्रिमियर लिगमा आर्मी र बुटवल विजयी

सुर्खेत । वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको वाइवाई कर्णाली प्रिमियर लिगमा आर्मी क्लब र न्यू होराइजन बुटवल विजयी भएका छन् । आर्मीले झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई ५८ रनले हरायो ।

टस जितेर ब्याटिङ गरेको आर्मीले ९ विकेट गुमाएर १७६ रन बनायो । एक सय ७७ रनको लक्ष्य पाएको लालीगुराँसले ९ विकेट गुमाएर ११८ रन मात्र बनायो । बलिङतर्फ आर्मीका जितेन्द्र मुखिया, भीम सार्की र हरि चौहानले दुई/दुई विकेट लिए । ब्याटिङतर्फ आर्मीका राजु रिजालले ४९ रन र कुशल मल्लले ४२ रन बनाए । बलिङतर्फ लालीगुँरासका तिलक मगर, एस कनौडिया र प्रणव शाहले दुई/दुई विकेट लिए ।

अर्को खेलमा न्यू होराईजन बुटवलले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई ७१ रनले हरायो । एक सय ६७ रनको लक्ष्य पाएको महेन्द्रनगरले १९ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै ९५ रन मात्र बनायो । महेन्द्रनगरका लागि सन्तोष भट्टले २२ रन बनाए । बलिङतर्फ बुटवलका शक्ति गौचनले तीन तथा सुनिल धमला र विकास श्रेष्ठले दुई/दुई विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनायो । बुटवलका लागि सुनिल धमलाले ६० रन र अर्जुन रायमाझीले ४० रन बनाए । बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले दुई तथा विकास आग्री र विक्रम ठगुन्नाले एक/एक विकेट लिए । यही वैशाख २१ गतेसम्म चल्ने उक्त प्रतियोगितामा दुई विभागीय टोलीसहित आठ टिमले भाग लिएको कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछ ।