अन्तर्राष्ट्रिय

जापानका दुई विपक्षी दलको एकीकरण

टोकियो । जापानका दुई ओटा विपक्षी दल शुक्रबार एकीकृत भएको घोषणा गरिएको छ । ‘जापानिज डेमोक्रेटिक पार्टी फर द पिपुल्स’ र ‘लिबरल पार्टी’ एकीकरण भएको नेताहरूले जानकारी दिएका छन् ।

यही गृष्म ऋतुमा माथिल्लो सदनको निर्वाचन हुन लागेकाले निर्वाचनमा सत्तारुढ दललाई टक्कर दिनका लागि विपक्षी दुई दल एकीकृत भएका हुन् ।

जापानको दोस्रो ठूलो विपक्षी दल जापानिज डेमोक्रेटिक पार्टी फर द पिपुल्स’ र ‘लिबरल पार्टी’ का बीचमा पटक पटक भएको गम्भीर छलफल पछि नेताहरु पार्टी एकीकरण गर्ने निर्णयमा पुगेका बताइएको छ ।

प्रधानमन्त्री सिन्जे आवेको सत्तारुढ दल ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडीपी) लाई टक्कर दिनका लागि आफूहरूले पार्टी एकीकरण गरेको जापानिज डेमोक्रेटिक पार्टी फर द पिपुल्स’ का नेता युइचिरो तामाकीले बताए ।

“अहिलेको सत्तारुढ दललाई सत्ताबाट हटाउनका लागि यो पहिलो चरणको काम हो, हामी बैकल्पिक शक्तिको रुपमा उदाउने छौँ,” उनले पत्रकारहरुसँग भने ।

पार्टी एकीकरणको प्रक्रियालाई आफूहरुले अभियानकै रूपमा निरन्तरता दिने पनि नेता तामाकीले जानकारी दिए ।