समाचार

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षीद्वारा आयोजित रात्रिभोजमा सरिक

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली/ बेइजिङः राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सि चिनफिङले अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आएका अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा शुक्रबार साँझ आयोजना गरेको रात्रिभोजमा सरिक भईन् ।

सो अवसरमा ‘बिआरआई’ मा संलग्न मुलुकका प्रमुख संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालको अन्नपूर्ण, माछापुच्छ्रे तथा पोखरा उपत्यका देखाइएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए । रात्रिभोजमा ठूलो सङ्ख्यामा विदेशी अतिथिको उपस्थिति थियो । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सचिव वैरागीको उपस्थिति थियो । उक्त अवसरमा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आउनुभएका अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सामूहिक तस्बीर खिचिएको थियो ।