पु.समाचार

कालोपत्र भएको दुई हप्तामै सडक यसरी भयो जीर्ण

काठमाडौँ । चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकअन्तर्गत जोरपाटी ओरालोबाट नारायणटार पुलसम्मको करीब एक किलोमिटर खण्ड कालोपत्र भएको दुई हप्तामै जीर्ण बनेको छ ।

यो सडक गत चैतको अन्तिम सातामा कालोपत्र भएको थियो । निर्माण कम्पनी युनाइटेड विल्डर्सले यो सडक कालोपत्र गरेको हो । कालोपत्र भएकै बेला सम्झौतामा तोकिएभन्दा कम निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए ।

यो सडक निर्माण शुरु भएको लामो समयसम्म पनि दायाँबायाँका घर नभत्काएकाले ‘साइड क्लियर’ नभएको भन्दै बन्न सकेको थिएन । सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र घर भत्काउने फैसला सुनाएपछि सरकारले अहिले भएकै चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो ।

सरकारले निर्णय गरेको वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम गरेका छैनन् । करीब ११ किमीको यो सडकको धेरै ठाउँमा अझै कालोपत्र भएको छैन । एक दिन काम गरे हप्ता दिनसम्म काम रोकिने, करोडौँको ठेक्का लिएर चार पाँच जना मजदूर मात्र काममा उतार्ने गरेको स्थानीयवासी श्याम बरालले गुनासो गरे ।

दुई साताअघि गरिएको कालोपत्रको गिट्टी निस्किएर पहिलेकै अवस्थामा सडक फर्किएको छ । कालोपत्र गरेको दुई सातामा फेरि सडकमा पानी जम्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाले कालोपत्र भइरहेका बेला कामको अनुगमन गरेको थियो । नगर उपप्रमुख शान्ति नेपाल वर्षौंपछि बनेको सडक खुशीले अनुगमन गर्ने बताउछन् ।

“सङ्घीय सरकारले लगाएको ठेक्का भएकाले अनुगमन गर्ने स्थानीय सरकारको काम त होइन तर नगर भित्रै भएकाले गएका थियौँ, त्यसैबेला गुणस्तरीय काम नभएको स्थानीयवासीको गुनासो थियो, सम्झौताअनुसार काम गराउन नगरपालिकाले पहल गर्छ”, नगरपालिकाको अनुगमन प्रमुखसमेत रहेकी उनले भनिन् । दुई सातामै सडक जीर्ण भएको सम्बन्धमा प्रतिक्रिया लिन युनाइटेड विल्डर्सका अधिकारीसँग पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने

यसैबीच जीर्ण बनेको जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक वैशाख १६ गतेदेखि मर्मतसम्भार हुने भएको छ । सडक विभागले यो सडक मर्मत गर्न लागेको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।

बिस्तारका लागि ठेक्का भइसकेको सात किमीको यो सडक चार वर्षदेखि दायाँबायाँका घर नभत्किएकै कारण अलपत्र बनेको छ । धेरै ठाउँमा खाल्डाखुल्डी भएकाले सवारी पल्टिनेलगायत दुर्घटना हुने गरेको छ । मर्मतसम्भारमा सहयोग गर्न नगरपालिकाले सार्वजनिक सूचना जारी नगरवासीसँग आह्वान गरेको छ ।