प्रदेश 2

मधेशबादी दल राजपाको महाधिवेशन कात्तिकमा

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा)को नयाँ नेतृत्व चयन आगामी कात्तिकमा हुने भएको छ । यही वैशाख ८ गते देखि आजसम्म चलेको पदाधिकारी बैठकले आगामी कात्तिक २८ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि वैशाखमा तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै राजपाले स्थगन गरेको थियो ।

महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने गरी अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । यसैगरी राजपाले ठाकुरकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।

आगामी महाधिवेशन पूर्ण हुने राजपाका महासचिव केशव झाले बताए । अध्यक्ष मण्डलका बहुमत सदस्यहरु विशेष अधिवेशन गर्ने पक्षमा रहे पनि दोस्रो तहका नेता तथा अधिकांश पदाधिकारी पूर्ण अधिवेशनको पक्षमा छन् ।

राजपाले सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । बैठकले भ्रातृ सङ्गठनलाई तत्काल समायोजन गरी पूर्णता दिनुका साथै व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ । दुई वर्षअघि छ पार्टी मिलेर राजपा बने पनि भ्रातृ सङ्गठनहरुले पूर्णता पाउन सकेका छैनन् ।