समाचार

काँग्रेस नेतासंग मेयर शाक्यले भने, ‘कुनैपनि हालतमा खुलामञ्चका गैरकानूनी संरचना भत्काउछौं’

काठमाडौँ । काठमाडौँ महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहितको टोलीले आज दिएको ध्यानाकर्षणपत्र बुझ्दै कामपा प्रमुख शाक्यले अतिक्रमण गरी बनाइएको सबै संरचना भत्काउने तयारी भइरहेको स्पष्ट गरे।
कामपाले नै उक्त सटर निर्माण गर्न अनुमति दिएको जनाउँदै ध्यानाकर्षणपत्रमा भनिएको छ, “सार्वजनिक रुपमा राखिएको व्यावसायिक सटरहरु तत्काल हटाउनुपर्छ सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ । ” प्रमुख शाक्यले ‘खुला मञ्च’ को समस्या समाधान गर्न उपप्रमुखले असहयोग गरेको जिकिर गरे ।
गत चैत २४ गते भएको नगरसभामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उपप्रमुख हरिप्रभा खड्गीलाई उक्त संरचनाबारे स्थलगत जानकारी लिन आग्रह गरे पनि नमानेपछि अहिले उहाँहरुबीच विवाद चुलिएको बताइएको छ । प्रमुख शाक्यले उपप्रमुख खड्गीले खुलामञ्चमा राजनीति गरिरहेको आरोप लगाउँदै भने,“अनुगमन संयोजक उपमेयर भएको हिसाबले कानूनी रुपमा नै उपमेयरलाई अनुगमनको जिम्मा रहेको छ । खुला मञ्चमा केही समयका लागि बसपार्क राख्न दिइएको हो, त्यो पनि म निर्वाचित भएर आउनुअघि नै हो, जे भए पनि ती संरचना भत्काइन्छ ।”

प्रमुख उपप्रमुख विवाद
उपप्रमुख खड्गीले भने आफूलाई प्रमुखले आधिकारिक रुपमा खुला मञ्चको अनुगमन गर्ने जिम्मा नदिएको र फोनमा त्यस स्थानमा के भएको रहेछ बुझ्नुस् मात्रै भनेको बताए । नगरसभाको केही दिनपछि केही सटर बनिरहेको र केहीमा पसलसमेत सञ्चालन भइरहेको बारे प्रमुखलाई भन्दा त्यति चासो नदिएको उपप्रमुखको आरोप छ । उपप्रमुख खड्गीले भनिन्, “आज आधिकारिक रुपमा चिठ्ठी पाएको छु, आगामी आइतबार बैठक बसी अनुगमन शुरु गरिन्छ ।”
राजधानीको खुला मञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल यही वैशाख मसान्तसम्म हटाउन स्थानीयवासीले कामपालाई समयावधि दिएका छन् । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौता विपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका हुन् । यसै विषयलाई लिएर स्थानीयवासीले बिहीबार विरोध प्रदर्शनसमेत गरे ।
हाल काठमाडौँ भ्यू टावर निर्माण गरिरहेको उक्त बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाई भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएवापत कम्पनीले प्रत्येक व्यापारीबाट प्रतिसटर रु १५ लाखसम्म उठाएको छ । खुलामञ्चसँगै रहेको दुईमाजू गुठीको करीब एक रोपनी जग्गा पनि अतिक्रमण गरी व्यापारिक प्रयोजनमा लगाइएको पुष्टि भएको छ ।
कामपका प्रवक्ता ईश्वरमान डङ्गोलले यसरी सार्वजनिक जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग हुनु दुःखको विषय हो भन्दै आवश्यक अनुगमनपछि ती सबै संरचना भत्काइने बताए । अनुमति नलिई र नक्शा पास नगरी कामपाभित्र यस्तो कुनै पनि भवन वा संरचना बनाउन नपाइने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनमा अनुमति विपरीत र नियम मिचेर बनाइएका भवन तथा संरचना कामपाले तत्काल भत्काउन सक्ने व्यवस्था छ । यदि अवैधानिक रुपमा भौतिक संरचना निर्माण भएको भए, पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्थासमेत कानूनमा छ ।
तत्कालीन कामपा प्रमुख तथा प्रशासकीय अधिकृत रुद्रसिंह तामाङले त्यतिबेला आफूले टावर बनाउने कम्पनीलाई बढीमा एक वर्षको समयका लागि मात्रै खुलामञ्च दिएको बताए । सार्वजनिक खुला क्षेत्रमा महानगरको सहमतिविना व्यापारिक प्रयोजनमा सटरहरु निर्माण गर्न नपाइने भन्दै तामाङले खुला मञ्चमा सार्वजनिक शौचालय, बस काउन्टर र एउटा शहरी सेवा केन्द्रबाहेक अन्य खोल्ने गरी आफूले अनुमति नदिएको जिकिर गरे ।