स्वास्थ्य

रक्तक्यान्सरका रोगीलाई कैदीबन्दीको सहयोग

भद्रपुर । रक्तक्यान्सरबाट पीडित हल्दिवारी गाउँपालिका–७ का १३ वर्षीय गोपीचन्द्र (सुगम) दङ्गालको उपचारका लागि झापा जिल्ला कारागारका कैदीबन्दीले सहयोग उपलब्ध गराएका छन् ।

सुगम बचाऊ अभियान नै सञ्चालन गरेर रकम सङ्कलन गर्दै आएका स्थानीय युवा तथा अभियानका संयोजक तुलसीप्रसाल मिश्रलाई कारागारका चौकीदार मोहन धितालले आज सङ्कलित रु २१ हजार हस्तान्तरण गरेका हुन् ।

गत चैत २८ गते स्थानीयवासीको भेलाले सुगमलार्ई रक्त क्यान्सरबाट बचाउन मिश्रको संयोजकत्वमा समिति बनाएर चन्दा उठाउने अभियान सञ्चालन गरिएकामा हालसम्मरु चार लाखभन्दा बढी रकम सङ्कलन गरेर दङ्गाल परिवारलाई हस्तान्तरण गरिएको संयोजक मिश्रले बताए । स्थानीय चिल्ड्रेन गार्डेन स्कूल कक्षा ७ मा अध्ययनरत सुगमलाई रक्त क्यान्सर भएको परिवारजनले दुई महीना अघि मात्र थाहा पाएको उनका काका मनकुमार दङ्गालले बताए ।

झापामा उपचारसम्भव नभएपछि हाल उनको काठमाडौँस्थित कान्ति बाल अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । “तीन महीना अघि छोराको शरीरमा नीलो थिग्ला र दाँतबाट रगत आएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पताल लगेका थियौँ”, उनका बुबा भीष्म दङ्गालले भने, “त्यहाँका चिकित्सकले नाकमा मासु पलाएकाले समस्या भएको भन्दै शल्यक्रिया गरेका थिए, शल्यक्रियामा करीब रु एक लाख खर्च भएको थियो ।”

नाकाको शल्यक्रियापश्चात् पनि छोरा सञ्चो नभएपछि थप उपचारका लागि उनले चैत ४ गते काठमाडौँस्थित कान्ति बाल अस्पताल पुर्याएको त्यहाँका चिकित्सकले रक्त क्यान्सर भएको जानकारी दिए । सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएका भीष्मले छोराको उपचारमा खर्च जुटाइदिन सबैसमक्ष हारगुहार गर्दै आएक छन् । कान्ति बाल अस्पतालका डा सुधीर सापकोटाको भनाइ उद्धृत गर्दै उनले भने, “छोराको उपचार लागि रु ३५ देखि रु ४० लाखसम्म लाग्नसक्छ , अहिलेसम्म रु नौ लाख खर्च भइसकेकाले थप सहयोग जुटाइदिन सबैसंग आग्रह गर्दछु ।”