प्रदेश 2

महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या

महोत्तरी । गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि स्थानीयबासी पानीका लागि व्याकुल भएका स्थानीय सञ्चारकर्मी अमृतकुमार महतोले बताए । अहिले इनारमा पानी आउँदैन, जसका कारण पानी अभावले सबैभन्दा गृहिणीलाई समस्या भएको महतोले जनाए ।

विसं २०६८ मै स्थानीय जगदेव महतोले गाउँमै ओभरहेड ट्याङ्की निर्माणका लागि निःशुल्क तीन कट्ठा जग्गादान गरेका थिए । गाउँलेले शुद्ध पानी सुलभरुपमा पाउनुपर्छ भन्ने उद्देश्यले महतोले रु २१ लाख मूल्य बराबरको घडेरीनै पानी ट्याङ्की निर्माणका लागि दिए । उपभोक्ता समितिको आन्तरिक विवादका कारण आफूले जग्गादान गरेको वर्षौं बितिसक्दा समेत सोको उपलब्धि हासिल हुन नसकेको जग्गादाता महतोले गुनासो पोखे । गाउँमा पानीको हाहाकार हुँदा पिउने पानीका लागि कसैले भौँतारिनुपर्ने स्थितिको अन्त्य गर्न र जीवनको उतरार्धमा पुण्य कमाउन आफूले जग्गादान गरेको तर त्यसको लाभ जनताले लिन नसकेकामा महतोले चिन्ता व्यक्त गरे।

उपभोक्ता समितिभित्रको विवादका कारण स्थानीयले खानेपानी पाउन नसकेको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जय महतोले स्वीकार गरे । डिप बोरिङ, ओभरहेड ट्याङ्क, मुख्य पाइपलाइनको काम भइसकेको छ । शाखा पाइपलाइन विस्तार, बोरिङमा मोटर जडान र विद्युत्को मिटर जडानको काम पूरा हुन बाँकी छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं २ जलेश्वर महोत्तरीका इञ्जिनीयर सुरेन्द्र शर्माका अनुसार समितिले काम गर्न नसक्दा रु २५ लाख कार्यालयको खातामा थन्किएको छ । “काम गरेर बिल भर्पाई पेश गरे तुरुन्त भुक्तानी हुनेछ तर, समितिले न काम गरेको छ न त कार्यालयलाई काम गराउन उपभोक्ता समितिले लिखित निर्णय गरेर दिएको छ”, उनले भने। बर्दिबास नगरपालिका–९ का अध्यक्ष टेकवीर रखालले विवाद साम्य पारी स्थानीयको घरघरमा धाराको पानी पु¥याउन कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए । खानेपानी योजना अलपत्र परेपछि पशुपतिनगरका ५८७ घरधुरीका करीब दुई हजार ९६८ जनसङ्ख्या प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।