कर्णाली प्रदेश

कर्णाली प्रतिष्ठानको भवन बन्ने

सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आगजनी भएको ओपीडी भवन निर्माणको बाटो खुलेको छ । आगलागी भएको झण्डै चार वर्ष बित्न लाग्दासमेत नयाँ भवन बन्न सकेको थिएन ।

सो भवन देख्दा बिरामी झस्कन्थे । बिरामी असुरक्षित महसुस गर्दै अस्पतालमा भर्ना हुनसमेत आलटाल गर्दै आइराखेका थिए । आगजनीबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो । ब्युरोले समयमै अनुसन्धान प्रतिवेदन बुझाउन नसक्दा भवन निर्माणको काम अघि बढ्न सकेको छैन । अस्पताल बीचैमा भताभुङ्ग, लथालिङ्ग देख्दा बिरामीको मनस्थिति पनि बिग्रन्थ्यो ।

कर्णाली प्रतिष्ठानले पटक पटक अनुसन्धानका विषयमा चासो राख्दै जाँदा प्रहरीले पत्र काटेर भवन नयाँ बनाउँदा पनि फरक नपर्ने जनाएको हो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले आगजनी भएको भवन प्रमाणका लागि राखिराख्न आवश्यक नदेखिएको भन्दै पत्र पठाएपछि भवन भत्काएर नयाँ भवन लगाउन बाटो खुलेको बताए । उनले भने, “आगजनी भएको भवन निर्माण गछौँ, अहिलेसम्मको सन्त्रास हटाउँछौँ । आकर्षक र बिरामीमैत्री भवन निर्माणमा जोड दिन्छौँ । ”

जिल्ला प्रहरी कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र काट्दै आगजनी भएको भवन निर्माणको काम अघि बढाउँदा कुनै फरक नपर्ने बताए । पत्रमा भनिएको छ, “ओपिडी भवनमा आगजनी भई क्षति भएको घटना सम्बन्धमा भवनको अनुसन्धान प्रक्रिया जारी रहेको र अनुसन्धानमा आवश्यक पर्ने भवनसँग सम्बन्धित विवरण प्राप्त भइसकेकाले भत्काउँदा फरक पर्दैन ।” अहिलेसम्म आगजनी भएको भवन अलपत्र अवस्थामा थियो । अब प्रतिष्ठानले आफ्नै लगानीमा भवन बनाउँदैछ । आगजनीबाट भएको क्षतिको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गरिएको छ । ओपिडी कक्षमा सञ्चालित उपकरण एकै ठाउँमा नहुँदा बिरामी अलमलमा पर्ने गरेका छन् ।

जलेको उपकरण पनि अनुसन्धानका लागि पठाइसकिएको छ । प्रतिष्ठानले अनुसन्धानमा आवश्यक पर्ने सबै कागजात पठाइसकेको थियो तर भवन निर्माणका लागि औपचारिक पत्र आउन सकेको थिएन । पत्र प्राप्त भएसँगै सुविधासम्पन्न भवन निर्माण गर्ने योजनामा कर्णाली प्रतिष्ठान लागेको छ । आगजनीबाट करीब रु दुई करोड ७४ लाख बराबरको क्षति भएको थियो ।