खेलकुद

भारतमा करातेबाट विजेता बनेकालाई रुपन्देहीमा भब्य स्वागत

रुपन्देही । भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराते तथा किक बक्सिङ च्याम्पियनशिपमा समूह विजेता बनेको नेपाली टोलीलाई बिहीबार रुपन्देहीमा स्वागत गरिएको छ ।

च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गर्दै जीत हासिल गरेर फर्किएको जापान गोजुरियो कराते डो मिशन सङ्घको नेपाली टोलीलाई नेपाल–भारतको सीमा क्षेत्र बेलहियामा स्वागत गरिएको हो । खेलाडीलाई बधाई दिँदै सिद्धार्थ नगरपालिकाका प्रमुख हरि अधिकारीले नेपाली खेलाडीले करातेमा जीत हासिल गरेर देशको नाम उँचो बनाएको बताए ।

उपप्रमुख उमा काफ्लेले खेलाडीले विजय हासिल गरेर नेपाल खेलकूदमा अगाडि छ भन्ने उदाहरण प्रस्तुत गरेको भन्दै खुशी व्यक्त गरे । जापान गोजुरियो कराते डो मिशन सङ्घका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक के.बी रानाले खेलाडीको लगनशीलता र मिहिनेतले नेपाल विजयी भएको धारणा राखे ।

कराते महासङ्घका प्रदेश ५ अध्यक्ष भरतबहादुर केसीले आफ्नो सीप र कला प्रदर्शन गरी अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीले राम्रो छवि बनाएको उल्लेख गरे । बेलहिया भन्सार कार्यालय प्रमुख कमलकुमार भट्टराई, मिशन सङ्घका केन्द्रीय सचिव गिरी पुन, ट्रान्स नेपालका प्रमुख रबि पारिखे, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामु बस्नेत लगायतले नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए ।

पटनामा बुधबार सम्पन्न च्याम्पियनशिपमा नेपालको कराते डो मिशन सङ्घको राष्ट्रिय टोलीले २० वटा स्वर्ण पदक जितेको हो । अल इण्डिया सितोरियो कराते डो एकेडेमीको आयोजना तथा कराते एशोसिएशन अफ इण्डियाको सहयोगमा सम्पन्न च्याम्पियनशिपमा नेपाल प्रथम, भारत द्वितीय र बङ्गलादेश तृतीय भएका थिए । नेपालले काता र कुमितेतर्फ २० स्वर्ण, ६ रजत र एक कास्य पदक जितेको थियो । च्याम्पियनशिपमा भाग लिन मिशन सङ्घको नेतृत्वमा २६ खेलाडी, पाँच अधिकृत र दुई पत्रकारसहितको टोली वैशाख ७ गते पटना गएको थियो । च्याम्पियनशिपमा नेपालसहित आठ देशले सहभागिता जनाएका थिए ।