बाग्मती

भूकम्पपीडितको व्यथाः ओलीले शुभारम्भ तर चार वर्ष बित्दा पीडित टहरामै

चौतारा । विनाशकारी भूकम्प गएको चार वर्ष पूरा भइसक्दा पनि सिन्धुपाल्चोकको २७ प्रतिशत पीडित अझै टहरामा बस्न बाध्य छन् । प्रथम किस्ता लिएर पनि निजी घर बनाउने तत्परता नदेखाइ सुस्त गतिमा काम अघि बढेकाले हालसम्म ७३ प्रतिशतले मात्र निजी आवास निर्माण गरेका छन् ।

भूकम्प गएको एक वर्षपछि २०७३ वैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चौतारा नगरपालिकाअन्तर्गत स्यांवोमा निजी आवासको शिलान्यास गरी देशभर आवास निर्माणको शुभारम्भ गरेका थिए । जिल्लामा ८८ हजार २४९ लाभग्राहीको सूचीमा छन् । त्यसमध्ये ८५ हजार १७२ लाभग्राहीले पहिलो किस्ता, ७९ हजार ७४१ जनाले दास्रो र ६३ हजार २७० जनाले तेस्रो किस्ता बुझेका छन् । हालसम्म ६३ हजार २७० नागरिक नयाँ घरमा बसोबास गर्न थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख जयप्रकाश गुप्ताले बताए ।

भूकम्पबाट सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित जिल्ला हो । यहाँका एक हजार ५७३ व्यक्तिले ज्यान गुमाएका थिए । आठ जना बेपत्ता भएका थिए भने १५६५ जना घाइते भएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास र राष्ट्रिय सम्पदालाई पहिलो तथा दास्रो प्राथमिकतामा राखेको छ । गुम्बैगुम्बाले परिचित जिल्लामा करीब २०० गुम्बाको पुनःनिर्माण कार्य अझै शुरु हुन सकेको छैन । हेलम्बुका दर्जन बढी गुम्बा देशकै पुरानामा पर्छन् ।