पु.समाचार

१९९० को भूकम्पमा १० हजार ७०० को निधन र ०७२ महाभूकम्पपछि

चितवन । भूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्प गइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधी गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रुपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्प गइरहेको हो ।

पौडेलका अनुसार जमीनमुनि इण्डियन र तिब्बतियन प्लेट निरन्तर ठोक्किइरहन्छ । इन्डीयन प्लेट तिब्बतीयन प्लेटको मुनि पस्नेक्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीयमाध्यमबाट क्षय हुने बताए । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्प गइरहने पौडेलले बताए । जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पले दिने उनले बताए ।

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्प मात्र जाने पौडेलले बताए । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनी बताउछन् । सन् १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रबिन्दु भई भूकम्प जाँदा १० हजार ७०० जनाले ज्यान गुमाएको र त्यसको प्रभाव भारतको दरबङ्गासम्म पुगेको उनले बताए ।

विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको र अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको पौडेलले बताए । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि ठूलो भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ । भूकम्पीय जोखिम कम गर्न सरकारले सर्वसाधारणलाई सचेत गराउनुपर्ने पौडेल बताउछन् । कमजोर संरचनाले क्षति पु¥याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प जाँदा आपत्कालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । चार वर्षअघि आजकै दिन गोरखाको बारपाकमा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।

चार वर्षमा १६ विद्यालय पुनःनिर्माण

चार वर्षअघि गएको भूकम्पका कारण भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ (शिक्षा) चितवनले दिएको जानकारीअनुसार भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणको काम हालसम्म १० प्रतिशत मात्र भएको छ ।

कार्यालयका प्रमुख भक्तराज सेञ्चुरीका अनुसार हालसम्म पुनःनिर्माण गर्नुपर्ने १५९ विद्यालयमध्ये १६ विद्यालयका ४४ कक्षाकोठा मात्रै निर्माण भएका छन् । अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा ती विद्यालय निर्माण भएका हुन् । चालू आर्थिक वर्षमा ३६ विद्यालयमा ११५ कक्षाकोठा निर्माण गरिएको छ ।

कार्यालयका इञ्जिनीयर सरोज श्रेष्ठका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित रु १८ करोड आठ लाख बजेटमध्ये हालसम्म रु १० करोड ५० हजार मात्र खर्च भएको छ । चितवन कम प्रभावित जिल्लाका रुपमा पर्ने हुँदा शिक्षाको कार्यक्रममा पर्याप्त बजेट नआउँदा कामको प्रगति कम देखिएको उनले बताए । कार्यालयका प्रमुख सेञ्चुरीका अनुसार १५९ विद्यालयमध्ये कतिपय विद्यालय मर्मत सम्भारमा मात्रै परेका छन् । ती विद्यालयको काम भइरहेको छ ।