पर्यटन/संस्कृति

अन्ना क्यासिनोका मजदुरसँग आइतबार वार्ता हुने

काठमाडौँ, १२ वैशाख ९रासस० स् आन्दोलनरत क्यासिनो अन्नाका मजदुर र क्यासिनो व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न सरकारको रहोबरमा आइतबार वार्ता हुने भएको छ ।

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले होटल डेला अन्नपूर्णलाई विवाद समाधानका लागि बस्न लागेको बैठकमा उपस्थित हुन पत्र काटेको छ । श्रमिक–व्यवस्थापन विवाद समाधान गर्न बस्ने सो बैठकमा व्यवस्थापनका तर्फबाट तीन प्रतिनिधिलाई उपस्थित गराउन विभागले निर्देशन दिएको छ ।

क्यासिनो व्यवस्थापनले व्यवसाय बन्द भएको नाउँमा त्यहाँ कार्यरत ९२२ मजदुरलाई कुनै सेवा सुविधा नदिई अलपत्र पारेको र श्रम अदालतले गरेको फैसला व्यवस्थापनले कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रेका मजदुरले आफूहरुको माग पूरा गराउन केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

मन्त्रालयले उक्त क्यासिनोमा कार्यरत श्रमिकले पाउनुपर्ने तलब, भत्ता, सञ्चयकोष, उपदानलगायतका सेवा सुविधा प्राप्त गर्ने वातावरण मिलाउन विभागलाई निर्देशन दिएको थियो । क्यासिनोमा कार्यरत श्रमिकले विसं २०७० भदौदेखि सेवा, सुविधा नपाएको भन्दै क्यासिनो अन्ना मजदुर सङ्घर्ष समिति गठन गरेरै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

अन्नपूर्ण इन्टरनेशनल प्रालिले क्यासिनो सञ्चालनको दायित्व २०६८ सालदेखि लिँदै आएको र २०७० भदौदेखि मजदुरले पाउनुपर्ने तलब, भत्तालगायत सेवा सुविधा मजदुरले नपाएको सङ्घर्ष समितिका संयोजक गोपाल राईले बताए ।

श्रम कार्यालय टेकुले २०७१ वैशाख १६ गते मजदुरको पाकेको सेवा सुविधा तत्काल तथा भुक्तानी हुन बाँकी तलब, भत्ता, सोही अवधिसम्मको सञ्चयकोषलगायत सेवा सुविधा उपलब्ध गराउन क्यासिनो व्यवस्थापनलाई निर्देशन दिएको थियो ।

यसैगरी श्रम अदालतले पनि श्रम कार्यालयको निर्णयको सदर गर्दै कुनै पनि व्यवसाय सञ्चालन गर्ने सञ्चालक तथा व्यवस्थापकले आफ्नो प्रतिष्ठानमा काम गर्ने कामदार कर्मचारीले पाउने कानून बमोजिमको पारिश्रमिक एवं अन्य सुविधा दिनुपर्ने फैसला गरेको थियो ।