समाचार

मदिराले आपराधिक घटना बढ्यो

डोटी । जिल्लामा गत आर्थिक वर्षको तुलनामा आपराधिक घटनामा वृद्धि भएको छ । प्रहरीका अनुसार जिल्लाका ग्रामीण क्षेत्रभन्दा सदरमुकाम र राजमार्ग छेउछाउका बस्तीमा आपराधिक क्रियाकलापमा वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक वर्षमा जिल्लामा ६० बढी आपराधिक घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा प्रहरी दुई दर्जन आपराधिक घटना दर्ता भएका थिए । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दर्ता भएका अधिकांश घटना मादक पदार्थ सेवन गरी घटेको पाइएको छ । उनले भने, “ आएका मुद्दामा धेरै मदिराको कारण देखिएकाले यसको निमूर्ल पार्ने अभियानमा छौँ ।”

जिल्लाका ग्रामीण क्षेत्रमा घट्ने आपराधिक घटनामा सामूहिक कुटपिट गरेर मारेका, सामूहिक बलात्कार, आत्महत्या गरेकाजस्ता घटना रहेको प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए । उनले भने, “ धेरै घटनामा मदिरा प्रमुख कारण देखिन्छ ।” अधिकांश बेरोजगार युवा एक ठाउँमा जम्मा हुने तथा मदिरा सेवन गरेर सङ्गठित रूपमा आपराधिक घटना घटाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

आपराधिक घटनामा वृद्धि हुनुमा प्रहरीकहाँ घटना दर्ता गर्नुपर्छ भन्ने चेतनाको कारण भएको डोटीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताए । उनले भने, “प्रहरी सक्रियता बढेकाले कुनै पनि आपराधिक घटना लुक्न पाउँदैनन् ।” शहरबजारका घटना प्रहरीकहाँ पुगे पनि यहाँका ग्रामीण क्षेत्रमा घट्ने अधिकांश घटना गाउँघरमै मिलाउने, पीडितको पहुँचमा कमी तथा इज्जतको गाउँमै मिलाउने जोरायल गाउँपालिका–३ का स्थानीयवासी चित्रराज भट्टले बताए ।