अन्तर्राष्ट्रिय

सिरियाको द्वन्द्व समाधानका लागि कजाकिस्तानमा वार्ता

नुर–सुल्तान । कजाकिस्तानको राजधानी नुर–सुल्तानमा सिरियामा जारी द्वन्द्वको उपयुक्त समाधानको उपाय पहिल्याउने उद्देश्यले छलफल गर्न इरान, रुस र टर्कीका प्रतिनिधिहरु भेला भएका छन् ।

तीन ओटा शक्ति राष्ट्र र सिरिया सरकारका प्रतिनिधिहरु पनि नुर–सुल्तान आइपुगेका कजाकिस्तानका विदेश मन्त्रीले पुष्टि गर्नु भएको छ । शुक्रबार दिनभर वार्ता हुने बताइएको छ । सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूत गेइर पेडर्सन पनि वार्तामा सहभागी हुन लाग्नु भएको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

अल–कायदा आवद्ध हायत ताहरिर अल शाम नामक लडाकू समूहले नियन्त्रणमा लिएको सिरियाको उत्तरपूर्वी क्षेत्र इद्लिबको अवस्थाका बारेमा पनि छलफल हुने अनुमान गरिएको छ । कजाकिस्तानको राजधानीको नाम गत महिनासम्म अस्ताना थियो । हालै मात्र सत्ता छोड्न लाग्नु भएका राष्ट्रपतिको नाममा नुर–सुल्तान नामकरण गरिएको छ ।

दमास्कसलाई मद्दत गर्ने उद्देश्यले सन् २०१५ मा रुसले सिरियामा सैन्य हस्तक्षेप गरेपछि देशको दुई तिहाई भूभाग पुनः सत्तापक्षको नियन्त्रणमा आएको छ । सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै आन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन अलकायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुँदै गएपछि केही समयमा नै आन्दोलन गृहयुद्धमा परिणत भएको थियो । सन् २०११ देखि हालसम्म जारी सो द्वन्द्वमा परी ३ लाख ७० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

गृहयुद्धमा परी दशौं लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थीको रुपमा विस्थापित भएका छन् । त्यसैगरी लाखौं मानिस घाइते भएका छन् । सरकारी तथ्याङ्कअनुसार सर्वसाधारणको हताहतको सङ्ख्या सानो भएको र अझ बढी व्यक्ति प्रभावित भएको मानव अधिकारवादी संस्थाहरुले जनाएका छन् ।